राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साउन १६ गते) १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब गरी कूल १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी कात्तिक १५ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ र ९१ दिन अवधिको १३ अर्ब ६० करोड गरी कूल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार (आज) दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।