एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीका लागि कोप कार्डको सेवा शुभारम्भ « Arthapath.com
२० श्रावण २०७९, शुक्रबार

एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीका लागि कोप कार्डको सेवा शुभारम्भ



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २० वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा समुद्घाटन गरी शुभारम्भ गरेको छ ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएकोे छ । अहिले सम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएकोे छ । विगत केहि समय अगाडि देखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएम÷पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन भने, पोसको माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्ति दिनेछ र सहकारीहरुको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ ।

कार्ड शुभारम्भ कार्यक्रमलाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै, माननीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक बृद्घि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागार्इंले सहकारीमा प्रबिधिको महत्व र उपयोगिताका बारे प्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्धारा सहकारीहरुलाई विद्युतीय कारोवारका लागि थप प्रबिधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गरे ।

ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफनो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केहि टेवा पुरयाउन पाएकोमा खुशि ब्यक्त गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै एससीटी ले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको धारणा राखे । सेवा क्षेत्रमा प्रबिधिको आवश्यकता रहँदै आएको सन्दर्भमा यस्ता सेवाहरू थपिँदै जाँदा संस्थाहरूको सेवा प्रविधियूक्त हुने धारणा समेत अध्यक्ष पोखरेलले व्यक्त गरे ।

कोप कार्ड सार्वजनिक कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका थिए ।


प्रतिक्रिया दिनुहोस्