वाणिज्य बैंकहरु निक्षेप ११ अर्ब रुपैयाँले बढ्यो, कर्जा प्रवाहमा पनि सुधार आउँदा सीडी रेसियो कति ?

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि लगातार ओरालो लागेको वाणिज्य बैंकहरुको निक्षेप संकलन भदौंको दोस्रो सातासम्म आइपुग्दा भने सुधार देखिएको छ । भदौंको दोस्रो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार भदौ १० गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप भदौ १७ गतेसम्म आइपुग्दा ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै सो अवधिमा वाणिज्य बैंकहरुको कर्जाा प्रवाहमा समेत सुधार देखिएको छ । भदौ १७ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेको हो । भदौ १० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौ १७ गतेसम्म ४१ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघको तथ्याङमा उल्लेख गरीएको छ ।
निरन्तर ओरालो लागेको वाणिज्य बैंकको निक्षेप सुधार आएसँगै औसत सीडी रेसियोमा पनि सुधार आएको छ । गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.४२ प्रतिशत रहेकोमा भदौ १७ गतेसम्म घटेर ८८.२५ प्रतिशतमा पुगेको छ ।