महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका गरेका छन् ।
बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ ।
हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो ।
साथै बैंकको आँबुखैरेनी शाखाद्वारा आँबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको हो ।
त्यसैगरि बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरिएको छ ।
मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकहरुलाई आराम गर्न सहयोग होस् भन्ने हेतुले बैंकले उक्त कुर्सीहरु मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो ।
कार्यक्रम सँगसगै बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सि. सि. क्यामेरा जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सि. सि. क्यामेरा जडान गरेको हो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैकंले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको छ ।