नेपालको तराई क्षेत्रबाट पैसा भारतीय बैङ्कमा जम्मा हुन थाल्यो, पुँजी पलायनको आशङ्का « Arthapath.com
१५ कार्तिक २०७९, मंगलवार

नेपालको तराई क्षेत्रबाट पैसा भारतीय बैङ्कमा जम्मा हुन थाल्यो, पुँजी पलायनको आशङ्का



काठमाडौं । भारतको तुलनामा नेपालमा दोब्बर बढी ब्याज पाइने भए पनि नेपालबाट भारतीय बैङ्कमा बढी पैसा जान थालेको पाइएपछि बैंकरहरु तनावमा परेका छन् । सीमावर्ती भारतीय बैङ्कमा नेपालबाट दैनिक करोडौँ निक्षेप जम्मा हुन थालेको पाइएको एक बैंकरले बताए । ‘एउटै बैङ्कमा दैनिक डेढ–दुई करोड पैसा जम्मा भइरहेको खबर आएको छ’, ती बैंकरले भने, ‘यदि यो सत्य हो भने हाम्रा लागि असाध्यै डरलाग्दो र दुःखद हुने छ ।’ 

अहिले भारतमा मुद्दती निक्षेपमा ६ देखि साढे ६ प्रतिशत ब्याज दिइरहेका छन् । नेपालमा भने १२ दशमलव १३ प्रतिशत ब्याज पाइन्छ । बैङ्कमै पैसा राखेर यति धेरै लाभ हुँदा हुँदै पनि भारतीय बैङ्कमा नेपालीको पैसा बढ्न थाल्नुले सकारात्मक सन्देश नदिने बैंकर बताउँछन् । नेपालमा व्यवसाय गर्ने मूलतः मारवाडी समुदाय र कतिपय भारतीयले यसरी भारतमा पैसा लगिरहेको पाइएको छ । 

सीमावर्ती क्षेत्रमा व्यापार गर्ने धेरै नेपाली र भारतीय नागरिकले नेपाल र भारत दुवै तर्फका बैङ्कमा खाता खोलेको पाइन्छ । यसबारे राष्ट्र बैङ्कले खासै चासो दिन सकेको छैन । नेपालमा ५०० र २ हजारका ठुला दरका नोटको कारोबार खासै नभए पनि त्यसभन्दा सानो दरका नोटको खुल्ला कारोबार हुन्छ । १०० भारतीय रुपयेको नेपाली १६० रुपैयाँमा स्थिर विनिमय दर तय भएका कारण राष्ट्र बैङ्कले प्रतिबन्ध लगाएको ठुला दरका नोटबाहेक सबै नोटको कारोबार नेपालमा हुन्छ । 

अझै सीमावर्ती क्षेत्रमा त प्रतिबन्धित नै भए पनि ठुला दरका भारुको खुल्लमखुल्ला कारोबार हुँदै आएको छ । सीमा क्षेत्रका बजारमा हरेक दिन पैसाको ओहोर दोहोर हुँदा यस्ता कुरामा ध्यान दिइँदैन । भारतमा पनि नेपालसँग जोडिएका सीमाका बजारहरूमा नेपाली मुद्राको बाक्लो कारोबार हुन्छ । यसरी सीमामा हुने कारोबारका लागि भारुको आवश्यकता बढी पर्ने भनेर राष्ट्र बैङ्कले बेलाबेलामा हामीसँग भएको डलर बेचेर भारु किन्ने पनि गरेको छ । 

यसरी किनिएको भारुमध्ये धेरै हिस्सा वैदेशिक व्यापारको भुक्तानीमा प्रयोग हुने भए पनि केही अंश भने नगदमै सटही हुन्छ । यसरी भारतमा आफन्त रहेका नेपाली व्यवसायी, नेपालमा व्यापार व्यवसाय गरिरहेका भारतीय र कतिपय मारवाडी समुदायका नेपालीले समेत अहिले नेपालबाट आफ्नो सम्पत्ति भारत लान थालेको हुनसक्ने बैंकर बताउँछन् । 

लामो समयदेखि नेपालको बैङ्किङ प्रणालीमा खासै निक्षेप बढ्न सकेको छैन । यो आर्थिक वर्ष सुरु भएपछि ३ खर्बभन्दा धेरै रेमिटेन्सको नेपाल भित्रिसकेको छ । सरकारले पनि गत साउन यता करिब ३ खर्ब रुपैयाँ पैसा खर्च गरिसकेको छ । यसरी देखिने गरी ६ खर्ब रुपैयाँ पैसा बजारमा थपिएको छ । राष्ट्र बैङ्कका अनुसार साउन र भदौमा जम्मा २ खर्ब ४५ अर्ब व्यापार घाटा भएको छ । असोजमा अर्को डेढ खर्ब थपिए पनि ४ खर्ब पुग्नुपर्छ । २ खर्ब रुपैयाँ प्रणालीमा खुद नाफा हुनु पर्ने थियो । देशभित्रको मूल्य अभिवृद्धिको हिसाबै नगर्ने हो भने पनि हाम्रो निक्षेप २ खर्ब बढ्नु पर्ने हो । 

तर गत असार मसान्तमा ५१ खर्ब ५८ अर्ब रहेको निक्षेप अहिले पनि जतिको त्यत्ति छ । गत साता पनि पुरै वित्तीय प्रणालीको निक्षेप ५१ खर्ब ५८ अर्ब नै रहेको राष्ट्र बैङ्कको आँकडा छ । यसरी अर्बौँ होइन, खर्बमा हाम्रो पैसा प्रणाली बाहिर गइरहेको तथ्याङ्कले देखाउँछ । यसरी देशभित्रका बैङ्कमा निक्षेप घटिरहने, तर विदेशी बैङ्कमा नेपालबाट पैसा जम्मा हुन थाल्यो भने नेपालमा देखिएको विद्यमान तरलता समस्या अझै लामो समय तन्किने सक्ने बैंकर बताउँछन् । ‘यसरी पुँजी पलायन हुने हो भने त समस्या लम्बिने मात्रै होइन, हाम्रो अर्थतन्त्र नै टाट पल्टिन सक्छ’, ती बैंकरले भने । 

राष्ट्र बैङ्कका अधिकारीहरू भने भारतमा पनि सम्पत्ति शुद्धीकरणका प्रावधानहरू देखाएर पुँजी पलायनलाई अस्वीकार गर्दै आएका छन् । तर वास्तविकतामा त्यसो नहुने बैंकर र व्यापारी बताउँछन् । भारत सरकारले नोट बन्दी गरेका बेला बैङ्कहरू र राष्ट्र बैङ्कसँगै भएका ठुला दरका भारु अहिलेसम्म साटिएको छैन । तर नेपालका व्यापारीले आफ्ना अनेक संयन्त्र र युक्ति लगाएर करोडौँ रकमका पुराना नोटहरू रातारात साटेका थिए । यसले भने मुद्रा बजारको वास्तविकतालाई केन्द्रीय बैङ्कले जान्न नसकेको पुष्टि हुने राष्ट्र बैङ्ककै अधिकारीहरू बताउँछन् । 

त्यसो त, राष्ट्र बैङ्कसँग यसरी भारतमा हुने पुँजी पलायन गर्न सक्ने सामर्थ्य पनि छैन । पारिवारिक नाता सम्बन्ध मात्रै होइन, एउटै व्यक्ति वा परिवारले दुवै देशमा कम्पनी वा फर्महरू खोलेर कारोबार गर्ने भएकाले पनि यसको जरो समात्न सजिलो छैन । दुवै देशमा अनौपचारिक अर्थतन्त्रको आकार निकै ठुलो भएको र खुला सीमा एवम् एक अर्को मुलुकका नागरिकले पाउने सुविधाहरूका कारण पनि यस्तो पुँजी पलायन रोक्न कठिन छ । 

बैंकरहरु यसअघि पनि थोरै थोरै पुँजी नेपाल र भारतमा बेलाबखत ‘यता–उता’ हुने भए पनि अहिले ठुलो परिमाणमा पुँजी बाहिरिन थालेको बताउँछन् । यसले नेपालको अर्थतन्त्र र मौद्रिक विश्वसनीयता कमजोर पार्ने बैंकरको बुझाइ छ । ठुला व्यापारीहरूले नेपालमा भएको सम्पत्ति बेचेर भारत लान थाले भने यसले हाम्रो अर्थतन्त्र र बैङ्किङ प्रणालीलाई ध्वस्त पार्न सक्ने भनेर बैंकर चिन्तित छन् । 


प्रतिक्रिया दिनुहोस्