वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घट्यो: कर्जा प्रवाहमा पनि कमी, सीडी रेसियो कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप घटेको छ । एक हप्तामा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ६ अर्ब रुपैयाँले घटेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार एक हप्तामा निक्षेप घटेर ५१ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको छ । यो अक्टोबर २२ अर्थात कात्तिक ५ गतेदेखि कात्तिक १३ गतेसम्मको अवधिमा तथ्याङ्क हो ।
तिहार, छठ पर्वको बिदाका कारण पनि बैंक तथा वित्तीय संस्थामा निक्षेपमा गिरावट आएको हो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४७ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन, कात्तिक ५ गतेसम्मको तथ्याङ्क अनुसार ३ अर्बले कमी हो । उक्त अवधिमा भने बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४७ खर्ब ६० खर्ब रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा वाणिज्य बैंकहरुमा पनि निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ । यो संगै उक्त अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ ।
उक्त अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा प्रवाह भने २ अर्बले घटेको हो । यसअघि अर्थात अक्टोबर २२ सम्म बैंकहरुले ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार बैंकहरुको औसत सीडी रेसियो ८७.२४ प्रतिशतमा रहेको छ ।