फर्स्ट माइक्रोफाइनान्सको मुनाफामा छलाङ, चुक्तापुँजी झण्डै १ अर्ब पुग्दा अन्य सूचक कस्तो ?

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा छलाङ आएको हो ।
असोज समान्तसम्मको अवधिमा आइपुग्दा कम्पनीको खुद नाफा ६१.७९ प्रतिशतले बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ९४ लाख १५ हजार रुपैयाँमा सिमित रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा मुनाफा समेत आकाशिएको हो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९८.१० प्रतिशतले बढेर १२ करोड १ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ६ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ६३ लाख ७ हजार रुपैयाँ संचालन नाफा रहेको कम्पनीको चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा ६१.८० प्रतिशतले बढेर ९ करोड ११ लाख २ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष ९.३६ प्रतिशतले बढेर २२ करोड २६ लाख ८३ हजार रुपैयाँ, कर्जा प्रवाह १०.९५ प्रतिशतले बढेर १० अर्ब ३६ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १५ पैसाले बढेर २६ रुपैयाँ ४५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ ।