दुई बलिया विकास बैंक: कुनले कति दिन सक्छन् लाभांश ? यस्तो छ इतिहाँस

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट विभिन्न्न बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गरी रहेका छन् । बैंकहरुले लाभांश दिने क्षमता बलियो बनाउदैं लगेका पाइन्छ । हालसम्म ८ वडा वाणिज्य बैंकहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरी सकेका छन् । जसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद लाभांश, बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश, एनसीसी बैंकले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश दिएको छ । अर्झ १८ वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्ने बाँकी रहेको अवस्था छ ।
हाल नेपालमा संचालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु मध्य कुनैले पनि लाभांश घोषण गरेका छन् । आज हामिले विकास बैंकहरु मध्य बलिया बैंक मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले दिन सक्ने लाभांश बारे चर्चा गरेका छौ ।
गत आवमा आठ राष्ट्रिय स्तरका विकास बैंकले ६ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २५.९४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुले ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपैयाँ नाफा गरेका थिए ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले गत आवमा १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १८.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २१.०८ प्रतिशतले वृद्धि भई ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन मुनाफा पनि १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड १९ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरण योग्य मुनाफा ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ देखिएको छ । गत आवमा बैंकले आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १४.४२ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ४४ करोड ४३ लाख ३८ हजार रुपैयाँ राखेको छ ।

गरिमा विकास
गरिमा विकास बैंकले पनि गत आवमा १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि ३१.६६ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ८ लाख २१ हजार रुपैयाँ पुगेको छ ।गत आवमा बैंकको संचालन नाफा १ अर्ब ४९ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
उक्त अवधिमा बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ । जसको आधारमा बैंकले आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १६.३८ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब २८ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
