‘आर-ओ-ई’मा एनआईसी सधैं पहिलो, कुमारी बैंकको अस्वभाविक उदयले यस्तो देखियो रोलक्रम « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

‘आर-ओ-ई’मा एनआईसी सधैं पहिलो, कुमारी बैंकको अस्वभाविक उदयले यस्तो देखियो रोलक्रम



काठमाडौं । केही वर्ष यता बढी लाभांश दिसक्ने सामथ्र्य तयार पार्नमा एनआईसी एसिया बैंक अग्रणी रहँदै आएको छ । यो आर्थिक वर्ष पनि एनआईसीले खुद सम्पत्तिको २८ प्रतिशतभन्दा धेरै प्रतिफ दिन सक्ने गरी नाफा कमाएको छ । २६ बाणिज्य बैंकमध्ये मूलतः विशाल ग्रुपको लगानी रहेको यो बैंकसँग गत असोज मसान्तमा २६ अर्ब ७८ करोड ६० लाख खुद सम्पत्ति छ । पहिलो त्रैमासमा बैंकले १ अर्ब ७५ करोड ६७ लाखभन्दा बढी नाफा आर्जन गरेको छ ।

सेयरमा प्रतिफल दरको हिसाबले दोस्रो स्थानमा रहेको कुमारी बैंकले आफ्नो खुद सम्पत्तिको १९.१ प्रतिशत नाफा आर्जन गरेको छ । कुमारी बैंक पछिल्लो एक दशमसम्म ज्यादै कमजोर पर्फरमेन्स गर्ने बाणिज्य बैंकहरुको सूचिमा थियो । तर अहिले यो बैंकले ठूलो बदलाव ल्याएर उच्च प्रतिफल दिनसक्ने सामर्थ्य जुटाएको हो । झण्डै २२ अर्ब नेटवर्थ भएको यो बैंकले पनि नाफा बढाएर १ अर्बको बेञ्चमार्क पार गरेको छ ।

तेस्रो स्थानमा अन्तरराष्ट्रिय बैंक स्ट्याण्डर्ड चार्टर्ड (१७.८६%) छ । करीव १९ अर्ब नेटवर्थ भएको यो बैंकले ८१ करोडमात्रै नाफा कमाएको छ । प्रतिफल सामथ्र्यको हिसाबले एभरेस्ट बैंक (१५.२९%), राष्ट्रिय बाणिज्य बैंक (१४.८९%), नेपाल एसबीआई बैंक (१४.७५%), प्रभू बैंक (१४.१६%), सिभिल बैंक (१३.८२%) अगाडी देखिएका छन् ।

नेटवर्थको केवल २.६१% मात्रै नाफा आर्जन गरेको कृषि विकास बैंक यो सूचीको अन्तिममा छ । सनराइज बैंक (४.०२%), बैंक अफ काठमाडौं (६.१४%), नेपाल बैंक (६.८१%), मेगा बैंक (९.११%), सिद्धार्थ बैंक (९.१९%) पनि कमजोर अवस्थामा देखिएका छन् । हिमालयन र सिटिजन्स बैंकले पनि खुद नाफालाई आफ्नो नेटवर्थको १० प्रतिशत कटाउन सकेनन् ।

सर्वाधिक नेटवर्थ (५३ अर्ब २६ करोड) रहेको नबिल बैंकले १ अर्ब ५७ करोड भन्दा बढी (दोस्रो बढी) नाफा आर्जन गर्यो । तर बढी नेटवर्थ भएकाले यो बैंक प्रतिफल दरका हिसाबले सूचिको १५ औं स्थानमा छ । ३८ अर्ब ८५ करोड हाराहारी नेटवर्थ भएको ग्लोबल आईएमई बैंक पनि १ अर्ब १९ करोड हाराहारी नाफा कमाएर नबिलभन्दा राम्रो प्रतिफल सामर्थ्य राखेको छ । तर यी दुबै बैंकको नाफा अनुपात नेटवर्थको १२ प्रतिशत हाराहारीमात्रै छ ।

एनएमबी, नेपाल इन्भेष्टमेण्ट, सानिमा, एनसीसी र प्राइम बैंक यी ठूला बैंक (नबिल र ग्लोबल)भन्दा बढी लाभांश क्षमता राख्छन् । माछापुच्छ्रे, लक्ष्मी र सेञ्चुरीले नबिललाई नै पच्छ्याइरहेका छन् ।

सेयरमा प्रतिफलको दरले कम्पनीको वास्तविक लाभांशलाई प्रतिनिधित्व गर्दैन । तर यसले धेरै हदसम्म कम्पनीको वित्तीय स्वास्थ्य प्रस्ट्याउन सघाउँछ । शेयर लगानी कर्तालाई पनि यो अनुपातले कम्पनीको छनोट गर्न सघाउँछ । नेटवर्थको आधारमा तयार हुने भए पनि यो तथ्यांकले कुनै कम्पनीलाई बढी वा घटी मुनाफा बाँड्ने सहजता कति छ भनेर थाहा पाउन सकिन्छ ।

कुल २६ मध्ये १४ बैंकले औसतभन्दा धेरै र १२ बैंकले औसतभन्दा कम ‘आर-ओ-ई’ रहेको वित्तीय विवरण प्रकाशित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्