सात बैंकको लाभांश वृद्धि हुँदा १३ वटाको घट्योः लाभांश वितरणबाट ४ बैंक वञ्चित (एकमुष्ट विवरणसहित) « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

सात बैंकको लाभांश वृद्धि हुँदा १३ वटाको घट्योः लाभांश वितरणबाट ४ बैंक वञ्चित (एकमुष्ट विवरणसहित)



काठमाडौं । लाभांश सिजन चलिरहेको छ । बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म २० वटा बैंकले लाभांश घोषणा गरेका छन् ।

बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । तर, यस वर्ष भने अधिकांश बैंकहरुको लाभांश दर भने घटेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुले लाभांश दर घटाएका छन् । गत आवमा नाफा वृद्धि गरेता पनि बैंकहरुले लाभांश दर भने घटाउँदै गएका हुन् । बैंकको पुँजी वृद्धिअनुसार व्यवसाय बढाउन नसक्दा लाभांश दर घटाएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

लाभांश घोषणा गरेका अधिकांश बैंकहरुले भने साधारण सभाबाट पारित समेत गरेका छन् । केहीले अब छिट्टै पारित गर्नेछन् । जसका लागि छुट्टा छुट्टै मिति र स्थानमा साधारण सभा बोलाएका छन् । अब लाभांश घोषणा गर्न बाँकी कृषि विकास बैंक मात्र रहेको छ । लाभांश घोषणा गरेका अधिकांश बैंकहरुले पनि बोनस भन्दा नगदमा जोडदिएका छन् ।

एक दर्जन बैंकको लाभांश घट्यो

यस वर्ष एक दर्जन वाणिज्य बैंकको लाभांश घटेको छ । स्थापित र बलिया मानिएका तथा लगानीकर्ताको रोजाई परेका बैंकहरुले पनि लाभांश घटाएका छन् ।

गत आवको तुलनामा यस वर्ष नबिल बैंक, एनएमबि बैंक, प्रभु, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, प्राइम कमर्सियल, सेञ्चुरी, सिटिजन्स, सानिमा मेगा बैंकले लाभांश घटाएका हुन् ।

नबिल बैंकले गत वर्ष आफ्ना सेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश बाँडेको थियो । तर, बैंकले यस वर्ष भने ३० प्रतिशत मात्रै लाभांश वितरणको प्रस्ताव गरेको छ । गत आवको मुनाफाबाट बैंकले १८.५० प्रतिशत बोनस र ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनएमबि बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । अघिल्लो आवको नाफाबाट बैंक गत वर्ष १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ३.३० प्रतिशत नगद गरि कुल १५.८० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रभु बैंकका लाभांश दर पनि घटेको छ । गत वर्ष १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर, बैंकले यस वर्षका लागि भने ८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।

नेपाल बैंकले यस वर्ष २ प्रतिशत बोनस दिँदा १० प्रतिशत नगद लाभांश बाँड्ने भएको हो । गत वर्ष भने बैंकले अघिल्लो आवको मुनाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस वर्ष सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद लाभांश वितरण गर्ने भएको हो । गत वर्ष भने बैंकले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत लाभंश वितरण गरेको थियो । यस्तै, प्राइम कमर्सियल बैंक अघिल्लो वर्षको मुनाफबाट गत वर्ष १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत गरि कुल १६.६३ प्रतिशत लाभांश बाँडेको थियो । यस वर्षका लागि भने बैंकले ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद गरि कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

हिमालयन बैंकले यस वर्ष कुल १९.११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभांश वितरण गरेको थियो । सेञ्चुरी कमर्सियल बैंकले यस वर्षका लागि बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गत वर्ष ७.७५ प्रतिशत बोनस र ०.३० प्रतिशत नगद गरि कुल ६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई गत वर्ष १२.६१ प्रतिशत बोनस सेयर र ३.३९ प्रतिशत नगद लाभांश बाँडेको थियो । तर, यस वर्षका लागि भने बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने भएको हो । यस्तै, मेगा बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष भने बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सानिमा बैंकले अघिल्लो आवको मुनाफाबाट १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिएको बैंकले यस वर्षका लागि १०.९८ प्रतिशत लाभांश घोषणा गरेको हो । यस वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने भएको छ । सिटिजन बैंकले गत आवको मुनाफाबाट ९ प्रतिशत नगद लाभांश दिने घोषण गरेको हो । बैंक यस वर्ष आफ्ना सेयरधनीलाई बोनस सेयर नदिने भएको हो । बैंकले प्रस्ताव गरेको सो लाभांश पनि पारित गरिसकेको छ । अघिल्लो आवको मुनाफबाट भने बैंकले १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यता, राष्ट्रिय वाणिज्य बैंकले यस वर्ष सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष भने बैंकले ३३ प्रतिशत लाभांश बाँडेको थियो ।

अघिल्लो वर्षभन्दा धेरै लाभांश दिँदै ७ वटा बैंक

अघिल्लो वर्षको तुलनामा भने यस वर्ष सात बैंकले धेरै लाभांश दिने भएका छन् । गत वर्षको तुलनामा एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी बैंक, एनसीसी बैंकले लाभांश बढाएका छन् ।

गत आवको तुलनामा यस वर्ष एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको लाभांश दोब्बर वृद्धि भएको छ । गत वर्ष १०.३२ प्रतिशत लाभांश बाँडेको एभरेष्ट बैंकले यस वर्ष २०.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेपाल एसबिआई बैंकको लाभांशदर पनि करिब दोब्बरले बढेको छ । गत वर्ष ५.३१ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्र्ष १०.५३ प्रतिशत लाभांश बाँड्न लागेको हो ।

यस्तै, कुमारी बैंकले यस वर्ष सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । अघिल्लो आवको मुनाफाबाट बैंक आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश वितरण बाँडेको थियो । यता, एनसीसी बैंकले सेयरधनीलाई गत आवको मुनाफाबाट ३.३७ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश दिने भएको छ । तर, गत वर्ष भने बैंकले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । स्ट्याण्र्डर्ड चार्टर्ड बैंकले यस वर्ष १६.५१ प्रतिशत मात्र नगद लाभांश दिने भएको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरि ग्लोबल आइएमई बैंकले यस वर्षका लागि ३ प्रतिशत मात्रै बोनस र १०.६० प्रतिशत नगद लाभांश दिने भएको हो । अघिल्लो आवको मुनाफाबाट गत वर्ष भने बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद लाभांश दिएको थियो । बैंक अफ काठमाणडूले यस वर्षका लागि ६ प्रतिशत बोनस सेयर १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिएको थियो ।

चार बैंक लाभांश वितरणबाट वञ्चित

यस वर्ष एनआईसी एशियासहित चार बैंकले भने यस वर्ष सेयरधनीको हात रित्तो बनाएका छन् ।

एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र सनराइज बैंकले गत आवकोको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएका हुन् । एनआईसी एशियाले गत वर्ष पनि सेयरधनीको हात रित्तो बनाएको थियो ।

राष्ट्र बैंकको कानुनी प्रावधानअनुसार पुँजी कोष टाइट भएका बैंकहरुले यस वर्ष लाभांश नदिने निर्णय गरेका हुन । राष्ट्र बैंकले तोके अनुसारको पूँजी कोष कायम राख्न नसक्दा यी बैंक लाभांश वितरणबाट वञ्चित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्