एकीकृत कारोबारका लागि धमाधम साइत जुराउँदै मर्जर प्रक्रियामा रहेका बैंकहरु, कुनको कहिले हुँदैछ ?

काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरु मर्ज हुने तयारीमा छन् । एक आपसमा गाभिनका लागि मर्जर सम्झौता गरेका मध्ये अब ८ वटा बैंक एकीकृत कारोबारको तयारीमा जुटिरहेका छन् ।
मर्जपछि कुमारी बैंक र एनसीसी बैंकले भने एकीकृत कारोबार सुरु गरिसेका छन् । हालसम्म नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू, हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र मर्जर सम्झौता गरेका छन् ।
मर्जर सम्झौता गरेका यी बैंकहरुले एकीकृत कारोबारका लागि कसरत गरिरहेका छन् । बैंकहरुले यहि पुस मसान्तभित्र नै एकीकृत कारोबार थालनी गर्ने तयारी जुटिरहेका हुन् । नेपाल राष्ट्र बैंकले पनि मर्जर सम्झौता गरेका बैंकहरुले पुस मसान्तभित्र नै एकीकृत कारोबार सुरु गर्न आकर्षित भएको बताएको छ ।
पुस मसान्तभित्र मर्ज हुँदा धेरै सुविधा पाउने भएकाले पनि बैंकहरुले एकीकृत कारोबारका लागि तिव्रता दिएको बुझिएको छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंकहरुलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट, वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट दिने केन्द्रीय बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने व्यवस्था गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भएको मर्जर प्रक्रियाको अन्तिम सम्झौता स्वीकृत समेत भई सकेको छ । यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ । यी दुवै बैंकको एकीकृत कारोबार भने पुस २७ गतेदेखि सुरु हुने बताइएको छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
ग्लोबल आइएमई बैंक र बिओके
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते प्रारम्भिक सहमति गरेका थिए । यी दुवै बैंक एक आपसमा गाभिनका लागि बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो ।
यी दुवै बैंकले एक अपसमा गाभ्ने गाभिने प्रयोजनका लागि असार २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी बैंकले एक आपसमा गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षहरूको समेत मूल्यांकन गरी सिफारिस गरेको शेयर आदानप्रदान अनुपात बैंक अफ काठमाण्डूको १०० कित्ता शेयर हुनेले ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर पाउने गरी निर्णय भएको बैंकले जनाएको छ । दुबै मर्जर पछि चुक्तापूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकले पुस २५ गतेदेखि नैएकीकृत कारोबार गर्ने तयारीमा जुटेको बैंक स्रोतले जनाएको छ।
हिमालयन र सिभिल बैंक
हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्न गत असार २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार हिमालयन बैंकले १००ः८१ को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको यियो । तर, दुवै बैंकको पछिल्लो सहमति अनुसार स्वाप रेसियो घटाएर १००ः८०.२८ कायम भएको स्रोतले बताएको छ। मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ ।
सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको जनाएको छ । यी दुवै बैंकले प्राविधिक कारण लगायतले पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने नसक्ने स्रोतले बतायो । राष्ट्र बैंकले तोकेको समयभित्र एकीकृत कारोबार गर्न सम्भव नभएको तर, माघ मसान्तसम्म सुभारम्भ गर्दा पनि मर्जरको सुविधा पाउनका लागि राष्ट्र बैंकलाई अुनरोध गर्ने भएको बताइएको छ ।
पुसमसान्तभित्र एकीकृत कारोबार गर्न नसकेता पनि राष्ट्र प्रदान गर्ने सुविधा प्राप्तिका लागि भने राष्ट्र बैंकलाई अनुरोध गरेको स्रोतले बताएको छ । यी दुवै बैंकले आगामी माघ १८ गतेभित्र एकीकृतक कारोबार थालनी गर्ने स्रोतको भनाई छ । बैंकले एकीकृत कारोबारका लागि आवश्यक काम अघि बढाएको र पुस भित्र सुरुवात गर्ने बताइएको छ ।
प्रभु बैंक र सेञ्चुरी बैंक
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले हस्ताक्षर गरेका थिए । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । सेञ्चुरी बैंकलाई प्राप्ति गर्न प्रभुले राष्ट्र बैंकबाट पनि अन्तिम स्वीकृति पाईसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै बैंकलाई एकीकृत कारोबार थालनीको बाटो खुला हुनेछ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्तसम्म मर्जरको एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ । सो व्यवस्था बमोजिम प्रभु र सेञ्चुरी बैंकले पुस अघिनै एकीकृत कारोबार गर्ने तयारी गरेको बताइएको छ । मर्जपछि बैंकको नाम प्रभु नै रहनेछ । बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ ।
मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुर बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ ।