बैंकहरुलाई एकीकृत कारोबारको चटारो : मर्जपछि कुन बैंकको संचालक र व्यवस्थापन टिम कस्तो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आठ वटा वाणिज्य बैंकहरुले मर्जरको अन्तिम स्वीकृति पाईसकेका छन् । मर्जरमा जानका लागि १० वटा बैंकहरुले सम्झौता गरेका थिए ।
यीमध्ये ८ वटा बैंकहरुलाई मर्जरमा जानका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, प्रभु र सेञ्चुरी कमर्सियल बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । मर्जरमा जानका लागि हिमालयन बैंक र सिभिल बैंकले स्वीकृति पाउन बाँकी रहेको छ ।
बैंकहरुले स्वीकृति पाएसंगै धमाधम एकीकृत कारोबारका लागि मिति तय गरिरेहका छन् । मर्जर स्वीकृति पाएकामध्ये कुमारी र एनसीसी बैंकले गत सातादेखि नै एकीकृत कारोबार थालनी गरिसकेका हुन् । अब ८ वटा बैंकमात्र बाँकी छन् ।
नेपाल राष्ट्र बैंकले पनि मर्जर सम्झौता गरेका बैंकहरुले पुस मसान्तभित्र नै एकीकृत कारोबार सुरु गर्न आकर्षित भएको बताएको छ । पुस मसान्तभित्र मर्ज हुँदा धेरै सुविधा पाउने भएकाले पनि बैंकहरुले एकीकृत कारोबारका लागि तिव्रता दिएको बुझिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंकहरुलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट, वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट दिने केन्द्रीय बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने व्यवस्था गरेको छ ।
हाल ६ वटा बैंकहरुले पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पुस २७ गते, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गते र प्रभु र सेञ्चुरी कमर्सियल बैंकले पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।
कुनको संचालक र व्यवस्थापन टिम कस्तो ?
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि हुने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।
मर्जपछि बनेको बैंकको केन्द्रीय कार्यालय नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं महानगरापालिका १ दरबारमार्गमा रहने छ ।एकीकृत कारोबार सुरु गरीने हुदाँ डाटा माइग्रेशन लगायतका प्रयोजनको लागि पुस २५ र २६ गते दुई दिनका लागि दुबैं बैंकका केन्द्रिय कार्यालय र शाखा कार्यालय बन्द राख्ने भएको हो ।
यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको थियो ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे बन्नेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । मर्जपछिको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । संचालककमा भने नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला र मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ ।
मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
ग्लोबल आईएमइ बैंक र बैंक अफ काठमाण्डु
ग्लोबल आईएमइ बैंक र बैंक अफ काठमाण्डुले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । यी दुवै बैंकले एक आपस मर्ज पुस २५ गते सोमबारबाट एकिकृत कारोबार थालनी गर्ने भएका हुन् ।
मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । नेपाल राष्ट्र बैंकको पुस १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयल पुस १९ गते बिओकेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु ग्लोबल आईएमई बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते प्रारम्भिक सहमति गरेका थिए । यी दुवै बैंक एक आपसमा गाभिनका लागि बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो । मर्जरमा जानका लागि यी दुवै बैंकले गत असार २ गते सम्झौता गरेका थिए । मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी ३४ अर्ब हुनेछ । उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड हुनेछ । मर्जपछि चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल बन्नेछन् । संचालकहरुमा ग्लोबल आइएमई बैंकबाट कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबलआईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको थियो । मर्जपछि बन्ने बैंकका बिओकेका प्रमुख कार्यकारी अधिकत (सीईओ) श्रवण कुमार मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।
प्रभु बैंक र सेञ्चुरी बैंक
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएको छ । यी दुवै बैंकले आगामी मंगलबार (पुस २६ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जपछि बनेको नाम प्रभु बैंक नै हुनेछ । सोही नामबाट एकीकृत कारोबार थालनी गर्ने भएका हो । बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ । प्रभुले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाइसकेको छ ।
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको हो । मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ ।
मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन । सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाइने भएको छ । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ । बैंकको तर्फबाट अध्यक्ष लिल प्रकाश सिटौला, रमेशसिंश खड्का, शंकरप्रसाद कालिकोटे, रामेश्वर सापकोटा रहने छन् । यता, सेञ्चुरीको तर्फबाट भने मन बहादुदर राई, अभिशेक बज्रचार्य, डा.गीता प्रधान संचालक रहनेछन् ।