आजदेखि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’, मर्जपछि कस्तो बन्यो बैंकको सांगठनिक संरचना ?

काठमाडौं । आजदेखि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार सुरु हुने भएको छ ।यी दुबै बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १ दरबारमार्गमा हुनेछ ।
मेगामा १०० कित्ता हुनेको अब इन्भेष्टमेन्टमा ९० कित्ता हुने
यी दुबैं बैंक १००ः९० को अनुपातमा मर्जरमा गएका हुन् । यो भनेको मेगा बैंकमा १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्टको ९० कित्ता पाउनेछन् । मेगा बैंकमा १०० कित्ता हुनेको सेयर घटेर ९० हुनेछ भने इन्भेष्टमेन्ट बैंक सेयर संख्यामा परिवर्तन नुहने बताइएको छ।
यी दुवै बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । मेगा बैंक गाभिने अन्तिमदिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्योहोर्ने सकार्ने गरि कम्पनीले रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । यी दुवै बैंक मर्जरमा जानका लागि गत जेठ २७ गते प्रारम्भिक सम्झौता भएको थियो ।
चुक्ता पुँजी ३५ अर्ब, निक्षेप र कर्जा लगानी ३ खर्ब नाघ्ने
मर्जपछि बैंकको चुक्त पुँजी करिब ३५ अर्ब रुपैयाँ पुग्नेछ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब र मेगाको १६ अर्ब ७६ करोड बढी रहेको छ । यस्तै, मर्जपछि बैंकको जगेडा कोषमा पनि १९ अर्ब ७५ करोड, निक्षेप संकलन साढे ३ खर्ब र कर्जा लगानी सवा तीन खर्ब पुग्ने छ ।
यस्तो छ संचालक र व्यवस्थापन टिम
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । संचालकमा नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य संचालकमा रहने सहमति भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।
शाखा सञ्जाल कस्तो ?
मर्जपछि बैंकको शाखा २९६ वटा हुनेछ । बैंकका अनुसार काठमाडौं उपत्यकामा मात्रै ८८ वटा शाखा रहनेछन् । ६० वटा एक्सटेन्सन काउन्टर र २७७ वटा एटिएम पुग्नेछन् । त्यस्तै बैंकले १०९ वटा शाखारहित सेवा प्रवाह कार्यालय समेत सञ्चालित छन् ।