कृषि विकास बैंकले दियो तनहुँको भानु माविलाई चार लाख रुपैयाँ « Arthapath.com
२३ असार २०८२, सोमबार

कृषि विकास बैंकले दियो तनहुँको भानु माविलाई चार लाख रुपैयाँ



बन्दीपुर । कृषि विकास बैङ्कले तनहुँ जिल्लाकै जेठो विद्यालय भानु माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित विद्यालयलाई आवश्यक फर्निचर व्यवस्थापन गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले चार लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

विद्यालयको ७२ औँ वार्षिकोत्सवको उपलक्षमा आयोजित कार्यक्रमको अवसरमा बैंकका कायममुकायम उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति कुँवरलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उपमहाप्रबन्धक श्रेष्ठले २०७२ सालमा आएको भूकम्पका कारण विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि नेपाल सरकार र अन्य दाताहरूको सहयोगमा विद्यालयको भवन पुनर्निर्माण भएता पनि अझै अन्य भौतिक संरचनाहरूको व्यवस्था गर्न बाँकी रहेको अवस्थामा बैंकको तर्फबाट केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि थप सहकार्य गर्न सकिने बताए ।

सहयोग उपलब्ध भएसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुँवर, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापासमेतले बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा बैंकको शाखा कार्यालय डुम्रे, तनहुँका प्रबन्धक पुरुषोत्तम पराजुलीसहित बन्दीपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न वडाका वडाध्यक्षहरू, कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरू, विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरू, अभिभावकहरू तथा विद्यार्थिहरु समेत करिव एक हजार जनाको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्