नबिल बैंकले कमायो ३ अर्ब ४१ करोड नाफा: खुद ब्याज आम्दानी र संचालन मुनाफा पनि वृद्धि, इपिएस कति ?

काठमाडौं । नबिल बैंकले झण्डै साढे ३ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले शनिबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ५६.६७ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ८५.६३ प्रतिशतले वृद्धि भई ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा भने बैंकको यो आम्दानी ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रुपैयाँ मात्रै रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको कुल संचालन आम्दानी ९ अर्ब ५१ करोड ६३ लाख १६ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको संचालन मुनाफा पनि ५६.०६ प्रतिशतले वृद्धि भई ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा भने ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा २६ अर्ब ८१ करोड ९२ लाख ७० हजार रुपैयाँ राखेको छ ।
दोस्रो त्रैमासमा बैंकले कुल ३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ५१ अर्ब ६४ करोड १५ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
चालु आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा १.८७ प्रतिशतले वृद्धि भई २.९८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यो कर्जा १.११ प्रतिशत मात्रै रहेको थियो ।
सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी झिनो वृद्धि भई २५ रुपैयाँ २६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १९९ रुपैयाँ १२ पैसा कायम भएको छ । पुस मसान्तसम्ममा बैंकको आधार दर १०.१ प्रतिशत कायम भएको छ ।