मर्जरपछि बैंकहरुको वित्तीय रिपोर्टः ग्लोबल आइएमई र इन्भेष्टमेन्टको प्रतिस्पर्धा, कुन सूचकमा को अगाडि ?

काठमाडौं । मर्जरपछि बनेका चार वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।
चालु आवको पुस मसान्तसम्म कुमारी र एनसीसी मिलेर कुमारी बैंक, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मिलेर ग्लोबल आईएमई बैंक, नेपाल इन्भेण्टमेण्ट र मेगा मिलेर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र सेञ्चुरी बैंक प्रभू बैंकमा विलय भएको छ ।
मर्जरमा गई गत पुस महिनादेखि एकीकृत कारोबार थालेका ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु र कुमारी बैंकले वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
सो अवधिमा यी चार वटा बैंकले ७ अर्ब ८ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने बैंकहरुको नाफा ६.३३ प्रतिशतले मात्र बढेको हो । गत वर्षको सोही अवधिमा बैंकहरुले ६ अर्ब ५० करोड १४ लाख ५६ हजार रुपैयाँ नाफा गरेका थिए ।
प्रकाशित वित्तीय विवरण अनुसार अधिकांश सूचकहरुमा ग्लोबल आइएमई बैंककै अग्रता देखिएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो स्थानमा देखिएको छ ।
अब हेरौं कुन सूचकमा को अगाडि ? यस्तो देखियो प्रतिस्पर्धा
खुद नाफामा पहिलो बन्यो ग्लोबल आइएमई, नाफा बढाउनेमा इन्भेष्टमेन्ट अगाडि
चालु आवको दोस्रो त्रैमासिक वित्तीय रिपोर्टअनुसार मर्जपछि बनेको ग्लोबल आइएमई बैंकको खुद नाफा सबैभन्दा धेरै छ । सो अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको हो । तर, गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने बैंकको नाफा ४.४६ प्रतिशतले मात्र बढी हो । दोस्रो स्थानामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले भने २८.४४ प्रतिशतले खुद नाफा बढाएर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ नाफा गरेको छ । सो अवधिमा प्रभु बैंकले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ र कुमारी बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ खुद नाफा गरेका छन् ।
खुद ब्याज आम्दानी ग्लोबल आइएमईकै बढी
सो अवधिमा खुद ब्याज आम्दानीमा पनि ग्लोबल आइएमई बैंक अगाडि छ । बैंकको चालु आवको दोस्रो त्रैमासमा ६ अर्ब ५४ करोड ३० लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा भने ३६.४४ प्रतिशतले बढी हो । सो अवधिमा धेरै खुद ब्याज आम्दानी गर्नेको दोस्रो स्थानमा कुमारी बैंकको देखिएको छ । बैंकले गत वर्षको पुस मसान्तसम्मको तुलनामा ६१.६४ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब २४ करोड ६ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा भने बैंकको यो आम्दानी ७३.९२ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा प्रभु बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३९ करोड ८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
संचालन नाफामा ग्लोलब पहिलो स्थानमा
सो अवधिमा सबैभन्दा धेरै संचालन नाफा गर्नेमा पनि ग्लोलब आइएमई पहिलो स्थानमा छ । बैंकले ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ संचालन नाफा गरेको छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्टले २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रुपैयाँ संचालन नाफा गरेको छ । सो अवधिमा प्रभुको संचालन नाफा १ अर्ब ६३ करोड ४१ लाख ९४ हजार र कुमारी बैंकको १ अर्ब ५७ करोड ३३ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई वितरणयोग्य नाफा सबैभन्दा धेरै, एनआईएमबिको ऋणात्मक
चालु आवको दोस्रो त्रैमासमा वितरण योग्य नाफा पनि ग्लोबल आइएमई बैंकको देखिएको छ । सो अवधिमा बैंकको यो नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्रभु बैंकको ३५ करोड ४२ लाख २४ हजार र कुमारी बैंकको २२ करोड ४४ लाख ४१ हजार रुपैयाँ रहेको छ । सो अवधिमा नेपाल इन्भेष्टमेन्टको वितरण योग्य नाफा भने १ अर्ब ६० करोड ४२ लाख २४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
चुक्ता पुँजीमा ग्लोबल आइएमई बलियो, दोस्रोमा इन्भेष्टमेन्ट मेगा बैंक
मर्जरपछि बनेको ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बनेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । बैंक अफ काठमाण्डूसंग मर्जरमा गएपछि बैंकको यो पुँजी ५०.३२ प्रतिशतले वृद्धि भएको हो । कुमारी र प्रभुलाई पछि पार्दै दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यस्तै, कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार र प्रभु बैंकको २३ अर्ब ५४ कारेड २४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
जगेडा कोषमा इन्भेष्टमेन्ट अगाडि
जगेडा कोषमा भने नेपाल इन्भेष्टमेन्ट बैंक बलियो देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकको यो कोषमा ६३.८० प्रतिशतले वृद्धि भएको हो । ग्लोबल आइएमईको जगेडा कोषमा १८ अर्ब ३१ करोड ९३ लाख ९० हजार रुपैयाँ राखेको छ । यस्तै, कुमारी बैंकको जगेडा कोषमा १२ अर्ब ५ करोड ७७ लाख र प्रभु बैंकको ९ अर्ब ८ करोड ११ लाख रुपैयाँ देखिएको छ ।
निक्षेप संकलन र कर्जा लगानी
चालु आवको दोस्रो त्रैमासमा निक्षेप संकलन र कर्जा लगानीमा पनि ग्लोबल आइएमई बैंक पहिलो स्थानमा छ । सो अवधिमा बैंकले ४ खर्ब ३ अर्ब ६८ करोड ३६ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने सो अवधिमा ३ खर्ब ६३ अर्ब २३ करोड ९४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल इन्भेष्टमेन्ट दोस्रो स्थानमा छ । सो अवधिमा बैंकले ३ खर्ब ५५ अर्ब २३ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब १७ करोड ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस्तै, सो अवधिमा कुमारी बैंकले २ खर्ब ९९ अर्ब ६९ करोड १७ लाख निक्षेप संकलन गरेको छ भने कर्जा लगानी २ खर्ब ७५ अर्ब ७६ करोड १३ लाख रुपैयाँ रहेको छ । यता, सो अवधिमा प्रभु बैंकले २ खर्ब ७० अर्ब ९२ करोड ३३ लाख निक्षेप संकलन र कर्जा प्रवाह २ खर्ब ४५ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
खराब कर्जा नेपाल इन्भेष्टमेन्टको बढी, प्रभुको कम
चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै खराब कर्जा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको देखिएको छ । सो अवधिमा बैंकको खराब कर्जा ३.७१ प्रतिशत रहेको छ । दोस्रो स्थानमा रहेको कुमारी बैंकको ३.१५ प्रतिशत खराब कर्जा देखिएको छ । यस्तै, ग्लोबल आइएमईको २.९२ प्रतिशत र प्रभु बैंकको १.९८ प्रतिशत खराब कर्जा देखिएको छ ।
प्रतिसेयर आम्दानी ग्लोबल आइएमइकै धेरै
अवधिमा प्रतिसेयर आम्दानी पनि ग्लोबल आइएमई बैंकको नै बढी देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको छ । तर, गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ४ रुपैयाँ ४२ पैसाले कमी हो ।
दोस्रो स्थानमा रहेको स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको १५ रुपैयाँ ६१ पैसा रहेको छ । कुमारी बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा र प्रभु बैंकको १० रुपैयाँ १९ पैसा रहेको छ ।