खस्कियो वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा : ६ महिनामा १९ अर्ब कमाए, तीन बैंकको ऋणात्मक « Arthapath.com
१९ माघ २०७९, बिहीबार

खस्कियो वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा : ६ महिनामा १९ अर्ब कमाए, तीन बैंकको ऋणात्मक



काठमाडौं । वाणिज्य बैंकहरुको वितरणयोग्य नाफामा गिरावट आएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटले बैंकहरुको वितरणयोग्य नाफामा खास सुधार आउन नसकेको हो ।

आर्थिक संकटले बैंकहरुमा ऋणको किस्ता तथा ब्याज असुल हुन सकेको छैन भने खराब कर्जा बढीरहेको छ । खराव कर्जा बढेसँगै बैंकहरुको नाफा तथा वितरण योग्य नाफामा पनि प्रभावित भएको छ । खराव कर्जाको लागि छुट्टै रकम प्रोभिजीनीङ गर्न परेपछि नाफा प्रभावित भएको हो । ऋणीले कर्जाको ब्याज र किस्ता समेत नबुझाएपछि बैंकहरूले वितरणयोग्य नाफा घटेको बताइएको छ ।

हाल संचालनमा रहेका २२ वटा बैंकहरुले ६ महिनामा १९ अर्ब १६ करोड १३ लाख ६८ हजार रुपैयाँ वितरण योग्यनाफा गरेका छन् । बैंकहरुले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिको तुलनामा भने ४.११ प्रतिशतले कमी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकहरुले १९ अर्ब ९८ करोड १७ लाख ७४ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएका थिए ।

सो अवधिमा सबैभन्दा धेरै वितरणयोग्य नाफा कमाउनेमा एनआईसी एशिया बैंक पहिलो स्थानमा छ । दोस्रो एभरेष्ट बैंक रहेको छ भने सबैभन्दा कम प्राइम कमर्सियल बैंकको देखिएको छ । चालु आवको ६ महिनामा तीन वटा बैंकको वितरणयोग्य नाफामा भने ऋणात्मक देखिएको छ । आधा दर्जन बैंकहरुको यस्तो नाफा १ अर्ब माथि देखिएको छ ।

वितरण योग्य नाफामा एनआईसी एशिया अगाडि, दोस्रो स्थानमा एभरेष्ट बैंक

चालु आवको ६ महिनामा सबैभन्दा धेरै वितरण योग्य नाफा एनआईसी एशिया बैंकको देखिएको छ । सो अवधिमा बैंकले ३ अर्ब ७५ करोड २४ लाख ५६ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ३३६.६४ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफा ८५ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

यस्तै, दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकको वितरण योग्य नाफा २ अर्ब ८४ करोड ६९ लाख ६८ हजार रुपैयाँ रहेको छ । बैंकको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १५.६७ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिमा बैंकको यो नाफा २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

तेस्रो स्थानमा रहेको कृषि विकास बैंकले भने २ अर्ब ६१ करोड ६ लाख २९ हजार रुपैयाँ वितरण योग्य नाफा गरेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने बैंकको यो नाफा ३८३.०६ प्रतिशतले बढेको हो । तर, चालु आवको सो अवधिमा बैंकको खुद नाफामा भने ऋणात्मक छ ।

तीन बैंकको वितरण योग्य नाफा ऋणात्मक

चालु आवको दोस्रो त्रैमासमा तीन बैंकको वितरण योग्य नाफा ऋणात्मक देखिएको छ । हालै मेगा बैंकसंग मर्जरमा गएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिभिल बैंक र सनराइज बैंकको वितरण योग्य नाफा पनि ऋणात्मक देखिएको हो ।

सो अवधिमा बैंकको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरण योग्य नाफा १ अर्ब ६० करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ । तर, गत वर्षको पुस मसान्तसम्ममा भने बैंकले २५ करोड ५७ लाख ५४ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो ।

सो अवधिमा सिभिल बैंकको वितरण योग्य नाफा २२ करोड ५४ लाख १९ हजार रुपैयाँ र सनराइज बैंकको १ करोड ६१ लाख ५२ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

६ वटाको वितरण योग्य नाफा १ अर्ब माथि

चालु आवको ६ महिनामा ६ वटा बैंकहरुको वितरण योग्य नाफा १ अर्ब माथि देखिएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको वितरण योग्य नाफा १ अर्ब ८७ करोड ८९ लाख ८९ हजार रुपैयाँ देखिएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको वितरण योग्य नाफा ३५.६१ प्रतिशतले बढी हो ।

वितरण योग्य नाफामा नबिल बैंकलाई लक्ष्मी बैंकले पछि पारेको छ । सो अवधिमा लक्ष्मी बैंकको वितरण योग्य नाफा १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ । यता, नबिल बैंकको भने १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ देखिएको छ।

यस्तै, नेपाल एसबिआई बैंकको १ अर्ब २१ करोड ३५ लाख, ग्लोबल आइएमई बैंकको १ अर्ब ११ करोड ९१ लाख, माछापुच्छ«े बैंकको १ अर्ब ५ करोड ८० लाख र स्टाण्डर्ड चार्टर्डको १ अर्ब ५ लाख रुपैयाँ रहेको छ ।

एनएमबि र प्रभुको भन्दा सानिमाको धेरै, प्राइम बैंकको सबैभन्दा कम

चालु आवको ६ महिनामा सानिमा बैंकको वितरण योग्य नाफा एनएमबि र प्रभु बैंकको भन्दा धेरै देखिएको छ । सो अवधिमा सानिमा बैंकको वितरण योग्य नाफा ९६ करोड ३७ लाख १० हजार रुपैयाँ रहेको छ ।

चालु आवको पुस मसान्तसम्मको सबैभन्दा कम वितरण योग्य नाफा प्राइम कमर्सियल बैंकको देखिएको छ । सो अवधिमा बैंकको वितरण योग्य नाफा ४१ लाख रुपैयाँ मात्रै देखिएको छ ।

यता, एनएमबि बैंकको ६३ करोड ९७ लाख ९७ हजार, प्रभु बैंकको ३६ करोड ४२ लाख २४ हजार, नेपाल बैंकको २९ करोड ७२ लाख १४ हजार र कुमारीको २२ करोड ४४ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

यस्तै, सिटिजन बैंकको वितरण योग्य नाफा १० करोड ७१ लाख ७४ हजार रुपैयाँ, सिद्धार्थ बैंकको ९ करोड ६५ लाख ६८ हजार, हिमालयन बैंकको ८ करोड ७२ लाख ६३ हजार रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्