लघुवित्त कम्पनीको १ अर्ब १५ करोड ब्याज आम्दानी गायब ! « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

लघुवित्त कम्पनीको १ अर्ब १५ करोड ब्याज आम्दानी गायब !



काठमाडौं । लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । कम्पनीहरुले ६ महिनामा १ अर्ब १५ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गुमाएका छन् ।

संचालनमा रहेका ५८ वटा लघुवित्त वित्तीय संस्थाहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

सो अवधिमा ति कम्पनीहरुले कुल १२ अर्ब ९१ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जुन, गत वर्षको पुस मसान्तसम्मको तुलनामा .१ प्रतिशतले कमी हो । गतवर्षको सोही अवधिमा कम्पनीहरुले १४ अर्ब ६ करोड ४९ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएका थिए । कम्पनीहरुको खुद ब्याज आम्दानीमा गिरावट आएसंगै अधिकांशको नाफा समेत प्रभावित भएको छ ।

चालु आवको दोस्रो त्रैमासमा अधिकांश लघुवित्तको खुद ब्याज आम्दानी घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५८ कम्पनीमध्ये १३ वटाको मात्र ब्याज आम्दानीमा सुधार देखिएको छ भने अन्यको यस्तो आम्दानी खुम्चिएको छ ।

१३ वटाको मात्रै बढ्यो ब्याज आम्दानी, खप्तडको उल्लेख्य सुधार

चालु आवको ६ महिनामा १३ वटा मात्रै लघुवित्तको खुद ब्याज आम्दानी वृद्धि भएको छ । सो अवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा छिमेक लघुवित्तको अगाडि देखिएको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने २८.१३ प्रतिशतले बढी हो ।

सो अवधिमा सबैभन्दा धेरै ब्याज आम्दानी बढाउनेमा भने खप्तड लघुवित्त देखिएको छ । कम्पनीको यस्तो आम्दानी ६४ प्रतिशतले बढेर ७६ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४६ लाख ६१ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानी ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख ६३ हजार रुपैयाँ, सूर्यादया ओमी लघुवित्तको ५५.६४ प्रतिशतले बढेर ३२ करोड २८ लाख ३६ हजार, साना किसान विकासको ३७.४३ प्रतिशतले बढेर ४ करोड ९ लाख ७० हजार र फस्र्ट माइक्रोफाइनान्सको २५.७७ प्रतिशतले बढेर २३ करोड ५ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरि सो अवधिमा आरएमडिसी लघुवित्तको २०.४५ प्रतिशतले बढेर ३३ करोड ४१ लाख ० हजार रुपैयाँ, सामुदायिक लघुवित्तको २.९७ प्रतिशतले बढेर १ करोड २५ लाख ३३ हजार रुपैयाँ, इन्फिनिटि लघुवित्तको ९.२४ प्रतिशतले बढेर ९ करोड ७० लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन ।

करिब चार दर्जन लघुवित्तको ब्याज आम्दानी खुम्चियो

चालु आवको ६ महिनामा करिव चार दर्जन लघुवित्तको खुद ब्याज आम्दानी खुम्चिएको छ । सो अवधिमा ४५ वटा लघुवित्तको ब्याज आम्दानीमा गिरावट आएको हो ।

सो अवधिमा सबैभन्दा धेरै ब्याज आम्दानी विन नेपाल लघुवित्तको घटेको छ । कम्पनीको यस्तो आम्दानी ६२.९५ प्रतिशतले घटेर ६ लाख ६ हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीले २ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

चालु आवको ६ महिनामा सबैभन्दा कम ब्याज आम्दानी ग्रामिण विकास लघुवित्तले आर्जन गरेको छ । सो अवधिमा कम्पनीको यस्तो आम्दानी ४ लाख ६३ हजार रुपैयाँ कायम भएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा २६.७४ प्रतिशतले कम हो ।

त्यस्तैगरी, सबैंको लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी ७ करोड १८ लाख रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४६.०८ प्रतिशतले कम हो । साथै, गुराँस लघुवित्तको ३६.०७ प्रतिशतले घटेर २ करोड २४ लाख रुपैयाँ, स्वाभिमान लघुवित्तको ४१.३५ प्रतिशतले घटेर ३ करोड २४ लाख रुपैयाँ, एनआइसी एशिया लघुवित्तको ३४.८५ प्रतिशतले घटेर ५४ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्