नबिल बन्यो धेरै नाफा कमाउने बैंकः एनआईसी, ग्लोबल आइएमई र आरविवि बीच कडा प्रतिस्पर्धा « Arthapath.com
५ चैत्र २०७९, आईतवार

नबिल बन्यो धेरै नाफा कमाउने बैंकः एनआईसी, ग्लोबल आइएमई र आरविवि बीच कडा प्रतिस्पर्धा



काठमाडौं । वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

सो अवधिमा संचालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुले ४१ अर्ब २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । तर, गत पुस मसान्तसम्ममा भने बैंकहरुले ३२ अर्ब ८९ करोड २७ लाख बढी नाफा कमाएका थिए । माघ महिनामा मात्रै बैंकहरुले कुल ८ अर्ब १३ करोड ५९ लाख ९० हजार रुपैयाँ बढी नाफा कमाएको देखिएको छ ।

नबिल बन्यो धेरै नाफा कमाउने बैंक

सो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । माघ महिनासम्ममा बैंकले ४ अर्ब १३ करोड २६ लाख ९० हजार बढी नाफा कमाएको छ । यो अन्य वाणिज्य बैंकहरुको भन्दा धेरै नै हो । नबिलले खुद नाफा एक महिनामै २०.९२ प्रतिशतले बढाएको छ । बैंक पछिल्लो एक महिनामै ७१ करोड ४९ लाख ९० हजार बढी नाफा कमाएको हो । गत पुस महिनामा भने बैंकले कुल ३ अर्ब ४१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एनआईसी एशिया र ग्लोबल आइएमईबीच कडा प्रतिस्पर्धा, पच्छ्याउँदै राष्ट्रिय वाणिज्य बैंक

राष्ट्र बैंकको तथ्याङ्क अनुसार खुद नाफामा एनआईसी एशिया र ग्लोबल आइएमई बैंकबीच कडा प्रतिस्पर्धा देखिएको छ । चालु आवको माघ मसान्तसम्ममा एनआईसी एशिया बैंकले ३ अर्ब ६७ करोड ८९ लाख ८० हजार बढी नाफा गरेको छ । यता, ग्लोबल आइएमई बैंकले भने ३ अर्ब ५५ करोड ३५ लाख ५० हजार बढी नाफा कमाएको छ । यी दुवै बैंकले गत पुस मसान्तसम्ममा भने क्रमशः ३ अर्ब २७ करोड ३३ लाख र २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बढी नाफा गरेका थिए ।

यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत पुस मसान्तसम्मको तुलनामा भने ३५ करोड ४९ लाख रुपैयाँले बढी हो ।

तीन बैंकको नाफा अर्ब पनि पुगेन, कृषि विकासले सुधार्यो नाफा

चालु आवको माघ मसान्तसम्ममा तीन वटा बैंकको नाफा अर्ब पनि पुगेको छैन। सो अवधिमा सनराइज बैंक, साविकको सिभिल बैंक र कृषि विकास बैंकको नाफा अर्ब मुनि देखिएको छ ।

सो अवधिमा सनराइज बैंकले ८६ करोड ६ लाख ३० हजार रुपैयाँ मात्र नाफा कमाएको छ । तर, बैंकले गत पुस महिनाको तुलनामा भने २० करोड ६६ लाख रुपैयाँले नाफा बढाएको हो ।

यस्तै, माघ महिनासम्ममा साविकको सिभिल बैंकले भने ७७ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । हाल बैंक हिमालयन बैंकसंग मर्ज भई गत फागुन १२ गतेदेखि एकीकृत कारोबार थालनी गरिसकेको छ ।

यता, चालु आवको दोस्रो त्रैमासमा ऋणात्मक रहेको कृषि विकास बैंकले भने नाफामा सुधार गरेको छ । बैंकले माघ महिनामा मात्रै २२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । योसंगै चालु आवको माघ मसान्तसम्ममा बैंकको नाफा १० करोड ६ लाख रुपैयाँ कायम भएको छ । गत पुस मसान्तसम्ममा भने बैंक १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कुन बैंकको नाफा कति ?

स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्