बैंकिङ्ग प्रणालीमा हालसम्मकै उच्च निक्षेपः कर्जा प्रवाह भने सुस्त, सीडी रेसियोमा सुधार, अब घट्ला ब्याजदर ? « Arthapath.com
२२ चैत्र २०७९, बुधबार

बैंकिङ्ग प्रणालीमा हालसम्मकै उच्च निक्षेपः कर्जा प्रवाह भने सुस्त, सीडी रेसियोमा सुधार, अब घट्ला ब्याजदर ?



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न थालेको छ । एकैदिन बैंकिङ्ग प्रणालीमा थप ६ अर्ब रुपैयाँ भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चैत २१ गते बुधवारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ५४ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मै उच्च हो । यसअघि बैंकिङ्ग प्रणालीमा ५४ खर्ब २५ अर्ब पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म भने बैंक तथा वित्तीय संस्थाहरुमा ५४ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
वाणिज्य बैंकहरु निक्षेप संकलन पनि एकदिनमै ५ अर्ब रुपैयाँले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार मंगलबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । तर, एकदिन अघि अर्थात चैत २० गते सोमबारसम्म भने ४७ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा निक्षेप संकलन बढ्दै गएता पनि बैंकहरुमा तरलताका हिसावले भने सहज अवस्था छैन ।

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढेपनि कर्जा प्रवाह भने सुस्ताएको छ । कर्जा लगानी पछिल्लो एकैदिन ३ अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ४८ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, मंगलबार भने घटेर ४८ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ । वाणिज्य बैंकहरुको मात्रै कर्जा लगानी ३ अर्बले घटेको हो । योसंगै मंगलबारसम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ । तर, सोमबारसम्म भने बैंकहरुले कुल ४२ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै आएको छ । मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको सीडि रेसियो ८५.४३ प्रतिशत रहेको छ । सोमबार भने ८५.६३ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

बैंकिङ्ग प्रणालीमा निक्षेप बढीरहँदा बैंकरहरु भने ब्याजदर घटाउने प्रयास रहेको बताउँदै आएका छन् । मंगलबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालयमा बोलाएर देशको वर्तमान अवस्था, ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्य वृद्धि लगायतका विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्रीसंगको छलफलमा गभर्नर अधिकारी ब्याजदर घटाउने उपायका बारेमा केही सुझाव पनि दिएका छन् । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ब्याजदरका विषयमा निजी क्षेत्र र सरोकारवालासंग छलफल गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल अंकल ल्याउनुपर्ने अभिव्यक्ति पनि दिँदै आएका छन् ।

नियामक निकायसंगैको छलफलले आगामी बैशाखमा ब्याजदर घट्ने संकेत देखिएको छ । यद्यपि, यसको विषयमा वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले आधिकारि निर्णय गर्न बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस्