वाणिज्य बैंकहरुमा लगानीयोग्य रकमको थुप्रोः साढे २ खर्बले बढ्यो निक्षेप, ब्याजदर वृद्धिले कर्जा लगानी सुस्त « Arthapath.com
२८ चैत्र २०७९, मंगलवार

वाणिज्य बैंकहरुमा लगानीयोग्य रकमको थुप्रोः साढे २ खर्बले बढ्यो निक्षेप, ब्याजदर वृद्धिले कर्जा लगानी सुस्त



काठमाडौं । चैत तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब नजिक पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुमा निक्षेप ४७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो । यो चैत २४ गतेसम्मको तथ्याङ्क हो ।

चालु आर्थिक वर्षको करिब करिब ९ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ५३ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुमा गत असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ क्षेत्रमा तरलता अभाव व्यापाक रुपमा हुँदै आएको छ । अझै पनि बैंकहरु तरलताको हिसावले सहज अवस्थामा छैनन् ।

यद्यपि, बैंकहरुको निक्षेप संकलन भने निरन्तर बढी रहेको छ । चैत तेस्रो सातासम्मको तथ्याङ्क अनुसार बैंकहरुमा मासिक (औषतमा) २८ अर्ब ११ करोड रुपैयाँ दरमा निक्षेप वृद्धि भएको देखिन्छ । तथ्याङ्क अनुुसार गत असार मसान्तसम्मको तुलनामा साउन भने १ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । त्यसपछि भदौ भने ५३ अर्ब रुपैयाँले वृद्धि भएको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको थियो । भदौपछि वाणिज्य बैंकहरुको निक्षेप क्रमशः वृद्धि भएको छ । यस्तै, असोजमा पनि ६१ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको थियो । कात्तिक महिनामा १६ अर्बले बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ, मंसिरमा ५८ अर्बले बढेर ४६ खर्ब २१ अर्ब, पुसमा ९५ अर्बले बढेर ४७ खर्ब १६ अर्ब रुपैयाँ पुगेको थियो ।

त्यसैगरि गत माघ महिनामा भने वाणिज्य बैंकहरुको निक्षेप एक महिनामा २५ अर्बले वृद्धि भई ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको थियो । बैंकर्स संघको तथ्याङ्क अनुसार गत फागुन मसान्तसम्ममा भने बैंकहरुको निक्षेप ३२ अर्बले बढेर ४७ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको थियो ।

नेपाल राष्ट्र बैंकको आइतबारसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन पनि ५४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । तथ्याङ्क अनुसार कर्जा लगानी भने ४८ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

उच्च ब्याजदर वृद्धिले कर्जा लगानी ठप्प

बैंकहरुमा निक्षेप निरन्तर वृद्धि भएता पनि कर्जा लगानी भने करिव करिव ठप्प नै छ । चालु आव सुरुभएदेखि चैत तेस्रो सातासम्म आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा लगानी १ खर्ब १० अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ ।

गत असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले चैत तेस्रो सातासम्म आईपुग्दा भने ४२ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकमा लगानीयोग्य रकम पर्याप्त रहे पनि उच ब्याजदरका कारण कर्जाको माग सुस्त छ । ब्याजदर उच्च भएका कारण कर्जा माग कम भएको जानकारहरु बताउछन् । विश्व बजारमा देखिएको आर्थिक मन्दीलगायत कारण लगानीको वातावरण बिग्रदो छ । अर्थतन्त्रमा आएको संकटले पनि कर्जाको माग बढ्न नसकेको अवस्था छ ।

पछिल्ला दिनहरुमा राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै आएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुको सीडि रेसियो ८५.४४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

बैशाखमा ब्याजदर घट्ने संकेत

बैंकहरुमा निक्षेप संगै अब कर्जाको माग पनि बढी हुने अपेक्षा गरिएको छ । आगामी बैशाखदेखि ब्याजदर घट्ने संकेतले पनि कर्जा लगानी बढ्न सक्ने अनुमान गरिएको हो ।

पछिल्लो समय ब्याजदर घटाउनका लागि चौतर्फी दबाब आईरहेको छ । सरकार पक्षले पनि निरन्तर ब्याजदर कम गर्ने सुझाब दिइरहेको छ । गत साताको मंगलबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालयमा बोलाएर देशको वर्तमान अवस्था, ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्य वृद्धि लगायतका विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्रीसंगको छलफलमा गभर्नर अधिकारी ब्याजदर घटाउने उपायका बारेमा केही सुझाव पनि दिएका थिए । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ब्याजदरका विषयमा निजी क्षेत्र र सरोकारवालासंग छलफल गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल अंकल ल्याउनुपर्ने अभिव्यक्ति पनि दिँदै आएका छन् ।

नियामक निकायसंगैको छलफलले आगामी बैशाखमा ब्याजदर घट्ने संकेत देखिएको हो । बैंकहरुले पनि पनि ब्याजदर घटाउने प्रयासमा रहेको अभिव्यक्ति दिँदै आएका छन् ।

यद्यपि, आधिकारिक निर्णय नेपाल बैंकर्स संघको भोलि अर्थात बुधवार बस्ने बैठकले नै गर्नेछ । सघंले चैत २९ गते आगामी २०८० बैशाखदेखि लागू हुनेगरि ब्याजदरका विषयमा छलफल र निर्णयका लागि बैठक आव्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्