नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २३ प्रतिशतले बढ्यो, मर्जपछि कस्तो छ वित्तीय सूचकहरु ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको नौ महिनामा बैंकले ३ अर्ब ४ करोड ६१ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने २२.९६ प्रतिशत बढी हो । गत आवको समिक्षा अवधिमा बैंकले २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र संचालन नाफामा उल्लेख्य सुधार गरेसंगै नाफा वृद्धिमा टेवा पुगेको हो । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७९ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिमा भने बैंकको यस्तो आम्दानी ३ अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ थियो ।
बैंकले ५ अर्ब ८६ करोड १२ लाख ७४ हजार रुपैयाँ संचालन नाफा गरेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ५५.८६ प्रतिशतले धेरै हो । सो अवधिसम्ममा बैंकको वितरवण योग्य नाफा ऋणात्मक देखिएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ९६ लाख ५६ हजार रुपैयाँ ऋणात्मक छ ।
बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २३ अर्ब ८९ करोड ६५ लाख ३४ हजार रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंककले कुल ३ खर्ब ५० अर्ब १९ करोड ७८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले कुल ३ खर्ब ११ अर्ब २४ करोड ८६ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा भने १.७४ प्रतिशतले वृद्धि भई ३.९४ प्रतिशत पुगेको छ ।
वित्तीय रिपोर्ट अनुसार बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट देखिएको छ । सो अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८४ पैसाले घटेर १५ रुपैयाँ २ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८८ पैसा छ । बैंकको आधार दर १०.२६ प्रतिशत छ ।