कृषि विकास बैंकको व्यवसाय विस्तारमा थप रणनीति: जोखिमको प्रभावकारी व्यवस्थापन, कर्जा गुणस्तर कायम गर्ने

काठमाडौं । कृषि विकास बैंकले १ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तर, बैंकको नाफा गत आवको समिक्षा अवधिको तुलनामा भने ४५.३६ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा भने बैंकले १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी भने वृद्धि भएको छ ।सो अवधिमा बैंकले ६ अर्ब २४ करोड ७३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने यो ११.८६ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ५ अर्ब ५८ करोड ४६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सो अवधिमा बैंकको संचालन नाफा १ अर्ब ४४ करोड ९९ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ५५ करोड ४३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
देशको विद्यमान आर्थिक अवस्था, तरलताको अनिश्चिता लगायतका कारण व्यवसाय विस्तारमा केही कमी आएको बैंकले जनाएको छ । देशको पूँजी बजारमा आएको गिरावट, कोषको लागतमा भएको उल्लेख्य वृद्धि, बैंकको निष्कृय कर्जा वृद्धिले नाफा प्रभावित भएको हो । आगामी दिनमा कृषि तथा अन्य प्राथमिकता क्षेत्रलाई विशेष ग्राहयता दिँदै कर्जा गुणस्तर उत्कृष्ट कायम गर्ने बैंकले प्रतिवद्धता जनाएको छ ।
चालु आवको ९ महिनामा बैंकले कुल १ खर्ब ८१ अर्ब ५५ करोड ५० लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७७ अर्ब ३६ करोड ६५ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.२० प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा भने १० अर्ब ५० करोड ६ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष भने गत आवको समिक्षा अवधिको तुलनामा २.८२ प्रतिशतले बढी हो । बैंकको प्रतिसेयर आम्दनी ७ रुपैइाँ ९० पैसा रहेको छ ।
व्यवसाय अन्तर निर्हित जोखिमको प्रभावकारी व्यवस्थापन गर्दै उपलब्ध स्रोत परिचालन, थप स्रोत संकलन र व्यवस्थापन तथा साधानको अधिकतम उपयोग गरि सेयरहोल्डर र सम्वद्ध सरोकारवालाहरुको हित हुनेगरि व्यवसाय विस्तर गर्ने बैंकले प्रतिवद्धता जनाएको छ ।
आगामी दिनमा कर्जा गुणस्तर कायम गर्न गरिने प्रयास र उल्लेखित अवस्था सहज हुदै जादा लगानी, कर्जा सम्पत्ति लगायत साना तथा मझौला उद्योग सम्बन्धी व्यवसायमा वृद्धि हुदै जाने बैंकले जनाएको छ ।