साढे ७२ अर्बले बढ्यो बैंकहरुको जगेडा कोषको आकारः नबिलको धेरै, तेस्रो पोजिशनमा ग्लोबल, कुनको कति बलियो ?

काठमाडौं । ११ प्रतिशतले नाफा बढाएका वाणिज्य बैंकहरुको जगेडा कोष पनि बढाएका छन् । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको जगेडा कोषको आकार ४२.४८ प्रतिशतले बढाएका छन् ।
बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको जगेडा कोषमा २ खर्ब ४३ अर्ब ४७ करोड ९३ लाख ६८ हजार रुपैयाँ राखेका छन् । जुन, गत आवको समिक्षा अवधिको तुलनामा भने ७२ अर्ब ५९ करोड २५ लाख रुपैयाँले बढी हो ।
गत आवको तेस्रो त्रैमाससम्ममा बैंकहरुले जगेडा कोषमा १ खर्ब ७० अर्ब ८८ करोड ६८ लाख रुपैयाँ राखेका थिए । वाणिज्य बैंकहरु पनि धमाधम मर्जरमा गएका कारण जगेडा कोषको आकार पनि वृद्धि भएको हो ।
जगेडा कोषमा नबिल बैंक बलियो, साढे २५ अर्ब पुर्यायो
नाफा लगायतका अन्य सूचकहरुमा अब्बल रहेको नबिल बैंक जगेडा कोषमा पनि बलियो देखिएको छ । नबिलको जगेडा कोष अन्य बैंकहरुको भन्दा धेरै छ । चालु आवको ९ महिनासम्ममा बैंकले जगेडा कोषमा २५ अर्ब ५५ करोड ७४ लाख रुपैयाँ राखेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने ७५.८७ प्रतिशतले बढी हो । नेपाल बंगलादेश बैंकलाई प्राप्तिपछि बैंकले यस्तो कोषको आकार बढेको हो । गत आवको चैत मसान्तसम्ममा बैंकले जगेडा कोषमा १४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ राखेको थियो ।
दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पच्छ्याउँदै नेपाल बैंक
सबैभन्दा धेरै जगेडा कोष हुनेको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंक रहेको छ । समिक्षा अवधिमा एनआईएमबिको जगेडा कोषमा २३ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ छ । मेगा बैंकसंग मर्ज भएपछि बैंकको जगेडा कोषको आकार ६६.२१ प्रतिशतले वृद्धि भएको हो । गत आवको समिक्षा अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।
एनआईएमबि पछि नेपाल बैंकको जगेडा कोष धेरै छ । नेपाल बैंकले २० अर्ब ६७ करोड ९८ लाख रुपैयाँ यस्तो कोषमा राखेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने १८.२ प्रतिशतले बढी हो ।
बिओकेलाई प्राप्तिपछि पनि तेस्रो पोजिशनमा ग्लोबल आइएमई, पछिपछि आरविवि
बैंक अफ काठमाण्डूलाई प्राप्तिपछि बनेको ग्लोबल आइएमई बैंक जगेडा कोषको आधारमा तेस्रो पोजिशनमा छ । बैंकले जगेडा कोषमा १९ अर्ब ६ करोड ५५ लाख रुपैयाँ राखेको छ । यद्यपि, गत आवको समिक्षा अवधिको तुलनामा भने बैंकको यस्तो कोषमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ मात्रै थियो । बिओकेलाई प्राप्तिपछि बैंकको जगेडा कोषको आकार ९३.६० प्रतिशतले बढेको हो ।
यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भने १७ अर्ब १९ करोड ९० लाख रुपैयाँ छ । बैंकले गत आवको चैत मसान्तसम्मको तुलनामा भने ४.६८ प्रतिशतले मात्रै बढी हो ।
कुमारी बैंकले बढायो सबैभन्दा धेरै जगेडा कोषको आकार
सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा कुमारी बैंक देखिएको छ । बैंकको यस्तो कोषको आकार १२४.१७ प्रतिशतले बढाएको हो । योसंगै चालु आवको तेस्रो त्रैमासमा बैंकको जगेडाको कोषमा १० अर्ब ४७ करोड ६३ लाख रुपैयाा छ ।
एनसीसी बैंकलाई प्राप्तिपछि नै बैंकको जगेडा कोष बढेको हो । गत आवको समिक्षा अवधिमा भने बैंकले यस्तो कोषमा ४ अर्ब ६७ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
दुई वर्ष लाभांश नबाँडेको एनआईसी एशियाको जगेडा कोषमा १४ अर्ब
दुई आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुको हात रित्तो बनाएको एनआईसी एशिया बैंकको जगेडाका कोषको आकार १४ अर्ब बढी छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकले यस्तो कोषमा १४ अर्ब १९ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने ४५.५८ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंक यस्तो कोषको आकार ९ अर्ब ७४ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको जगेडा कोष ९२ प्रतिशतले बढ्यो
केही महिना अघि सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकको जगेडा कोषको आकार ९२.५८ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा आईपुग्दा बैंकको यस्तो कोषमा १० अर्ब २७ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा झण्डै दोब्बर बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले जगेडा कोषमा ५ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।
कृषि विकास बैंकको जगेडा कोष झिनो वृद्धि
कृषि विकास बैंकको जगेडा कोष सामान्य वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा बैंकको यस्तो कोष २.८२ प्रतिशतले मात्रे वृद्धि भएको हो । योसंगै बैंक जगेडा कोषमा १० अर्ब ५० करोड रुपैयाँ रहेको छ । गत आवको समिक्षा अवधिमा भने बैंकको यस्तो कोषमा १० अर्ब २१ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
एभरेष्ट र सिद्धार्थको लगभग बराबरी, अन्य कुनको कति ?
तेस्रो त्रैमासिक वित्तीय रिपोर्टअनुसार एभरेष्ट बैंक र सिद्धार्थ बैंकको जगेडा कोषको आकार बराबरी जस्तो देखिएको छ ।
समिक्षा अवधिमा एभरेष्टको जगेडा कोषमा ९ अर्ब ८६ करोड २८ लाख रुपैयाँ रहेको छ । यो गत आवको समिक्षा अवधिको तुलनामा भने २१.५४ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, सिद्धार्थ बैंकको जगेडाको कोषमा पनि ९ अर्ब ३७ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकले गत आवको समिक्षा अवधिको तुलनामा भने कोषको आकार १६.७३ प्रतिशतले बढाएको हो ।
त्यसैगरि प्राइम कमर्सियल बैंकको जगेडा कोषमा ८ अर्ब ८९ करोड ६७ लाख, एनएमबि बैंकको ७ अर्ब ९७ करोड ४४ लाख, सनराइजको ७ अर्ब ६५ करोड १४ लाख, स्टाण्डर्ड चार्टर्डको ७ अर्ब २५ करोड ७९ लाख र नेपाल एसबिआईको ६ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा सिटिजन बैंकले २२.४८ प्रतिशत, लक्ष्मी बैंकले २३.७४ प्रतिशत, सानिमा बैंकले ११.३३ प्रतिशत र माछापुच्छ्रे बैंकले ३९.९५ प्रतिशतले जगेडा कोषको आकार वृद्धि गरेका छन् ।
कुनको कति ?
