लगानीकर्ताका लागि प्रतिसेयर आम्दानी महत्वपूर्ण सूचक: अब्बल मानिने बैंकहरुको इपिएस कम, कसको कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

लगानीकर्ताका लागि प्रतिसेयर आम्दानी महत्वपूर्ण सूचक: अब्बल मानिने बैंकहरुको इपिएस कम, कसको कति ?



काठमाडौं । अधिकांश बैंकहरुको प्रतिसेयर आम्दानी (इपिएस) घटेको छ । बैंकहरुको इपिएस औषतमा १९ रुपैयाँ देखिएता पनि दर्जन बढीको भने घटेको हो ।

संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय रिर्पोटले यस्तो देखाएको छ । एक कित्ता सेयरबराबर कम्पनीले आर्जन गरेको आम्दानीलाई प्रतिसेयर आम्दानीले जनाउँछ । लगानीकर्तालाई पनि कम्पनीको नाफाभन्दा पनि प्रतिसेयर आम्दानी महत्वपूर्ण मानिन्छ ।

चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ११.६८ प्रतिशतले बढाएका छन् । समिक्षा अवधिमा बैंकहरुले ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । २१ वटामध्ये ७ बैंकको नाफामा गिरावट आएको छ भने अन्यको वृद्धि भएको छ । बैंकहरुको अन्य मुख्य सूचकहरुमा त्यत्ति चमक नै छैन ।

बैंकहरुमा खराब कर्जा पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय देखिएका आर्थिक मन्दीले पनि बैंकहरुको कर्जा असुल हुन सकेको छैन । आर्थिक संकटका कारण अधिकांश क्षेत्रको व्यवसायीक आम्दानीमा ह्रास आएको छ । त्यसको असरले ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । महंगी, खर्च बढी, उच्च व्याजदर लगायतका कारण पनि ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । फलस्वरुप उनीहरुले कर्जाको किस्ता तथा व्याज तिर्न सकेका छैनन् । त्यसपछि स्वत रुपमा खराव कर्जा बढेको बैंकरहरु बताउछन् ।

यता, लगानीकर्ताको लगानी महत्वपूर्ण मानिने प्रतिसेयर आम्दानीमा पनि संकुचन देखिएको छ । कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै प्रतिसेयर आम्दानी हो। कतिपय बैंकहरुको नाफा बढी देखिए पनि प्रतिसेयर आम्दानी कम छन् । प्रतिसेयर आम्दानीकै आधारमा आगामी दिनमा कम्पनीले कति लाभांश दिन सक्ला भन्ने अनुमान समेत गर्न सकिन्छ ।

तेस्रो त्रैमासिक रिपोर्टअनुसार सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भने एनआईसी एशिया बैंकको छ । बैंकको इपिएस ४ रुपैयाँ ८२ पैसाले बढाए र ४६ रुपैयाँ ७६ पैसा पुगेको छ । यो गत आवको तेस्रो त्रैमासमा भने बैंकको यस्तो आम्दानी ४१ रुपैयाँ ९४ पैसा रहेको थियो । दोस्रो स्थानमा रहेको स्टाण्डर्ड चार्टर्ड बैंकको इपिएस ३६ रुपैयाँ ९१ पैसा छ । बैंकले गत आवको चैत मसान्तसम्मको तुलनामा भने १३ रुपैयाँ ८८ पैसाले बढाएको हो । सबैभन्दा धेरै इपिएस बढाउनेमा भने बैंक पहिलो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकले पनि प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसाले बढाएर ३० रुपैयाँ ७४ पैसा पुर्र्याएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको यस्तो आम्दनी ३० रुपैयाँ ५० पैसा छ । यता, नबिल बैंकको भने २५ रुपैयाँ २१ पैसा रहेको छ ।

दर्जन बैंकको इपिएस घट्यो, अब्बल मानिने बैंकहरुकै कम

अधिकांश सूचकहरुमा अब्बल मानिने बैंकहरुको प्रतिसेयर आम्दानी कम देखिएको छ, समिक्षा अवधिमा धेरै इपिएस घटेको छ ।अन्य सूचकहरुमा बलियो मानिने ग्लोलब आइएमईसहित ११ वटा बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।

समिक्षा अवधिमा ग्लोबल आइएमई बैंकको इपिएस ३ रुपैयाँ ८० पैसाले घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ । संचालनमा रहेका वाणिज्य बैंकमध्ये सबैभन्दा कम इपिएस कृषि विकास बैंकको देखिएको छ । सो अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ५६ पैसाले घटेर ७ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, कुमारी बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९ पैसा, प्रभु बैंकको ७ रुपैयाँ ३२ पैसा, सिद्धार्थको ५ रुपैयाँ ६५ पैसा, नेपाल बैंकको ४ रुपैयाँ १३ पैसाले घटेको छ ।

त्यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकको इपिएस २ रुपैयाँ ८४ पैसा, प्राइमको २ रुपैयाँ ४९ पैसा, माछापुच्छ्रेको २ रुपैयाँ ६० पैसा र सानिमा बैंकको ३७ पैसाले घटेको छ ।

कुन बैंकको प्रतिसेयर आम्दानी कति ?

स्रोतः बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण


प्रतिक्रिया दिनुहोस्