बैंकका कर्मचारीहरुले बुझे ३४ अर्ब तलब: ७ देखि ५७ प्रतिशतसम्म बोनस, कुन बैंकले कति दिए ? (सूचीसहित) « Arthapath.com
१६ असार २०८२, सोमबार

बैंकका कर्मचारीहरुले बुझे ३४ अर्ब तलब: ७ देखि ५७ प्रतिशतसम्म बोनस, कुन बैंकले कति दिए ? (सूचीसहित)



काठमाडौं । बैंकहरुले कर्मचारीलाई बोनसका लागि साढे ७ अर्ब बढी रकम छुट्याएका छन् ।

संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले कर्मचारीहरुका लागि ७ अर्ब ५७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बोनस छुट्याएको हो । बैंकहरुले कर्मचारी खर्चमा ७ प्रतिशतदेखि ५७ प्रतिशतसम्म बोनस दिएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकका कर्मचारीहरुका लागि करिव ३४ अर्ब रुपैयाँ खर्चिएका छन् । समिक्षा अवधिमा बैंकका कर्मचारीहरुले ३३ अर्ब ९८ करोड ९७ लाख ४४ हजार रुपैयाँ तलबभत्ता बुझेका छन् ।

बैंकहरुले कर्मचारीहरुको खर्चको औषतमा २२.३० प्रतिशत बोनसका लागि छु्टाएको तथ्याङ्कले देखाउँछ । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानहरुले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीहरुका लागि छुट्याउनु कानूनी प्रावधान छ । बैंकहरुले पनि सोही बमोजिम कर्मचारीहरुलाई बोनस वितरण गर्छन । यद्यपि, कतिपय बैंकहरुले औषतभन्दा धेरै बोनस पाउछन् भने कति कम पनि पाउने गरेका छन् ।

कर्मचारीहरुको खर्चमा बैंकहरुले दिन बोनस प्रतिशत भने स्टाण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै देखिएको छ । बैंकले ९ महिनामा कर्मचारीलाई ७२ करोड ३ लाख ५६ हजार रुपैयाँ तलब दिएको छ । तर, बोनसका लागि भने तलबको ५७.५० प्रतिशत रकम छुट्याएको छ । यो भनेको ४१ करोड ४३ लाख रुपैयाँ हो ।

बैंकहरुको प्रमुख सूचकहरुको आधामा अब्बल मानिने नबिल बैंक भने कर्मचारीहरुलाई धेरै बोनस बाँड्नेको दोस्रो स्थानमा छ । नबिलले कर्मचारी खर्चमा ४९.५० प्रतिशत बोनसका लागि छुट्याएको छ । ९ महिनामा नबिलका कर्मचारीहरुले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ तलब बुझेका छन् । समिक्षा अवधिमा बैंकले बोनसका लागि भने ८१ करोड २० लाख रुपैयाँ छुट्याएको छ ।

विगतका वर्षहरुमा थोरै कर्मचारी राखेर धेरै तलब र बोनस दिँदै आएको प्राइम बैंक चालु आवको ९ महिनामा भने तेस्रो स्थानमा छ । बैंकले चैत मसान्तसम्ममा कर्मचारीहरुका लागि १ अर्ब ९५ लाख रुपैयाँ खर्चिएको छ । सो बापतको ३८.८० प्रतिशत भने बोनसका लागि छुट्याएको छ । बैंकले कर्मचारी बोनसका लागि ३९ करोड १५ लाख रुपैयाँ रकम छुट्याएको हो ।

केही महिनाअघि मात्रै मेगा बैंकसंग मर्ज भई बनेको नेपाल इन्भेष्टमेन्ट बैकले भने कर्मचारी बोनसका लागि ४८ करोड ३५ लाख रुपैयाँ बढी रकम छुट्याएको छ । चालु आवको ९ महिनामा बैंकले कर्मचारीहरुका लागि १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ खर्चिएको छ । यसको ३६.२० प्रतिशत भने कर्मचारी बोनसका लागि छुट्याएको हो ।

यस्तै, एभरेष्ट बैंक भने कर्मचारी खर्चको ३१.४० प्रतिशत बोनसका लागि छुट्याएको छ । ९ महिनामा बैंकले १ अर्ब २४ करोड ७८ लाख रुपैयाँ तलब दिएको छ भने कर्मचारी बोनसका लागि ३९ करोड १४ लाख रुपैयाँ छुट्याएको छ । यता, ग्लोबल आइएमई बैंकले भने ९ महिनामा २ अर्ब ४३ करोड ६७ हजार रुपैयाँ कर्मचारीका लागि खर्चिएको छ । यसको २७.७० प्रतिशत भने कर्मचारीहरुको बोनसका लागि छुट्याएको हो । बैंकले ६७ करोड ३३ लाख २२ हजार रुपैयाँ रकम बोनसका लागि छुट्याएको हो ।

यस्तै, कर्मचारीहरुका लागि सबैभन्दा धेरै खर्चिएको एनआईसी एशिया बैंकले बोनसका लागि भने २३.३० प्रतिशत छुट्याएको छ । ९ महिनामा बैंकले कर्मचारीका लागि २ अर्ब ७३ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ । बोनसका लागि भने ६३ करोड ७२ लाख ९० हजार रुपैयाँ छुट्याएको हो ।

यस्तै, २ अर्ब १८ करोड ९९ लाख बढी तलब दिएको प्रभु बैंकले कर्मचारीहरुको बोनसका लागि यसको १३.६० प्रतिशत छुट्याएको हो । कर्मचारी बोनसका लागि बैंकले २९ करोड ७५ लाख बढी रकम छुट्याएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई ९ महिनामा २ अर्ब ३९ करोड ८६ लाख बढी तलब दिएको छ । बैंकले बोनसका लागि भने तलबको २३.७० प्रतिशत अर्थात ५६ करोड ७७ लाख रुपैयाँ बढी रकम छुट्याएको हो ।

यस्तै, १ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ तलब दिएको एनएनबि बैंकले भने कर्मचारीका लागि २५.७० प्रतिशत बोनस छुट्याएको छ । बैंकले कर्मचारीलाई ४२ करोड ३९ लाख बढी बोनस छुट्याएको हो ।

त्यसैगरि नेपाल बैंकले २ अर्ब ५८ करोड १२ लाख र कृषि विकास बैंकले २ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ कर्मचारीहरुलाई तलब दिएका छन् । यी बैंकहरुले क्रमशः ९.६० प्रतिशत र ७ प्रतिशत अर्थात नेपाल बैंकले २४ करोड ८६ लाख र कृषि बैंकले १६ करोड १८ लाख रुपैयाँ बढी बोनसका लागि छुट्याएका छन् ।

यता, माछापुच्छ्रे बैंकले कर्मचारी बोनसका लागि २१ करोड ४५ लाख, सिद्धार्थले २३ करोड ७४ लाख, सानिमाले २७ करोड, कुमारी २० करोड ६६ लाख रुपैयाँ बढी रकम कर्मचारी बोनसका लागि छुट्याएका छन्। यी बैंकहरुले चालु आवको ९ महिनामा आफ्ना कर्मचारीहरुलाई क्रमशः १ अर्ब ४३ करोड २४ लाख, १ अर्ब ९० करोड १६ लाख, १ अर्ब ५ करोड ४० लाख, १ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ तलब दिएका छन् ।

यता, हिमालयन बैंकले १ अर्ब २२ करोड २८ लाख, नेपाल एसबिआईले १ अर्ब ४ करोड ६२ लाख, लक्ष्मीले १ अर्ब ६ करोड ९६ लाख, सिटिजनले १ अर्ब २१ करोड ४८ लाख र सनराइजले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ तलब दिएका छन् । यी बैंकहरुले कर्मचारीहरुको बोनसका लागि क्रमशः २७ करोड ७९ लाख (२२.७० प्रतिशत), २८ करोड ६२ लाख (२७.४० प्रतिशत), १९ करोड ५८ लाख (१८.३० प्रतिशत), १९ करोड ८२ लाख (१६.३० प्रतिशत) र १८ करोड ५८ लाख (१७.४० प्रतिशत) छुट्याएका हुन् ।

कुन बैंकले कति दिए ?


प्रतिक्रिया दिनुहोस्