तीन ठुला धनी बैंकः ग्लोबल आइएमई, नबिल र एनआईएमबिलाई मुख्य सूचकहरुमा दाँजेर हेर्दा (विवरणसहित) « Arthapath.com
१६ असार २०८२, सोमबार

तीन ठुला धनी बैंकः ग्लोबल आइएमई, नबिल र एनआईएमबिलाई मुख्य सूचकहरुमा दाँजेर हेर्दा (विवरणसहित)



काठमाडौं । कुल सम्पत्तिको आधारमा ग्लोबल आइएमई, नबिल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि देखिएका छन् ।

यी तीन वटा बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण (अपरिस्कृत) ले यस्तो देखाएको हो ।

संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको कुल सम्पत्ति ५ खर्ब ९१ अर्ब ५० करोड ८८ लाख रुपैयाँ नाघेको छ । जुन गत आवको तेस्रो त्रैमासको अवधिमा ६.१५ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा बैंकहरुको कुल सम्पत्ति ५ खर्ब ५७ अर्ब २३ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

चालु आवको चैत मसान्तसम्मको विवरण अनुसार सबैभन्दा धेरै ग्लोबल सम्पत्ति आइएमई बैंकको छ । बैंकसंग कुल ५ खर्ब ५ अर्ब ७४ करोड ६१ लाख ६५ हजार रुपैयाँ रहेको छ । यो गत आवको चैत मसान्तसम्मको तुलनामा भने १ खर्ब ५३ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ अर्थात ४३.७१ प्रतिशतले बढेको हो । ग्लोबलले बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेपछि सम्पत्ति थप भएको हो । गत आवको चैत मसान्तसम्ममा बैंकसंग ३ खर्ब ५१ अर्ब ९० करोड ९६ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंक भने सम्पत्तिको आधारमा दोस्रो स्थानमा छ । चालु आवको तेस्रो त्रैमासम्ममा बैंकसंग ४ खर्ब ४३ अर्ब २२ करोड ५५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको सम्पत्ति करिव डेढ खर्ब अर्थात ४७.४८ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकसंग ३ खर्ब ५२ करोड २० लाख रुपैयाँ सम्पत्ति थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसंग ४ खर्ब ४२ अर्ब २८ करोड ७५ लाख रुपैयाँ कुल सम्पत्ति छ । जुन, गत आवको तेस्रो त्रैमासको तुलनामा २ खर्ब ४ अर्ब ५६ करोड ४५ लाख अर्थात ८६ प्रतिशतले बढी हो । बैंक केही समयअघि मेगा बैंकसंग मर्ज भएको थियो । मर्जरपछि नै बैंकको कुल सम्पत्ति बढेको हो ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

अब चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सम्पत्तिका आधार धनी मानिएका यी तीन बैंकको प्रमुख वित्तीय सूचकहरु कस्ता छन् ? भनेर तथ्याङ्क केलाउने प्रयास गर्नेछौं ।

खुद नाफामा नबिल पहिलो, सेकेन्ड पोशिजनमा ग्लोबल आइएमई

खुद नाफाको आधारमा नबिल बैंक पहिलो स्थानमा छ । चालु आवको तेस्रो त्रैमासमा नबिलले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५२.६२ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ३५ करोड २० लाख बढी नाफा आर्जन गरेको थियो । खुद नाफा आर्जनमा ग्लोबल आइएमई बैंक दोस्रो पोजिशनमा छ ।

कुल सम्पत्तिको आधानरमा पहिलो नम्बरमा रहेको ग्लोबलले चालु आवको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १६.९६ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बढी खुद नाफा कमाएको थियो ।

यस्तै, चालु आवको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा २२.९६ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी पनि नबिलको धेरै
चालु आवको ९ महिनामा खुद ब्याज आम्दानी पनि नबिल बैंककै धेरै छ । बैंकले गत आवको समिक्षा अवधिको तुलनामा ८४ प्रतिशतले खुद ब्याज आम्दनी बढाएको छ । नबिलले ९ महिनामा १२ अर्ब १० करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो । गत आवको समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ अर्ब ५९ करोड २ लाख बढी रहेको थियो ।

यस्तै, ग्लोबल आइएमईले भने ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनाम भने ५९ प्रतिशले बढी हो । यता, खुद ब्याज आम्दानी तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने ९९ प्रतिशतले बढाएर ७ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दनी गरेको छ ।

ग्लोबल आइएमईको चुक्ता पुँजी धेरै

चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको धेरै छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ छ । बिओकेलाईलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी ५० प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजीको आधारमा भने एनआईएमबि दोस्रो नम्वरमा छ । बैंकले गत आवको तेस्रो त्रैमासको तुलनामा ८६ प्रतिशतले वृद्धि गरि ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । मेगा बैंकसंग मर्जभएकाले नै बैंकको पुँजी वृद्धि भएको हो ।

यता, अन्य सूचकहरुमा अब्बल मानिएको नबिल बैंकको चुक्ता पुँजीको आधारमा भने तेस्रो पोजिशनमा छ । बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ ।

जगेडा कोषका आकार नबिलको बलियो

तीन धनि बैंकहरुको जगेडा कोषमा भने नबिल बैंक बलियो देखिएको छ। बैंकले जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ राखेको छ । दोस्रोमा रहेको २३ अर्ब ८९ करोड ६५ लाख र ग्लोबल आइएमईको १९ करोड ६ लाख ५५ लाख रुपैयाँ छ । गत आवको तेस्रो त्रैमासको तुलनामा यी बैंकहरले क्रमशः ६६ प्रतिशत र ९४ प्रतिशतले वृद्धि भएको हो ।

वितरणयोग्य नाफा नबिलकै धेरै

वितरण योग्य नाफा पनि नबिल बैंककै धेरै छ । चालु आवको तेस्रो त्रैमासमा बैंकको यस्तो नाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ बढी छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको ९६ करोड २६ लाख रुपैयाँ छ । तर, एनआइएमबिको भने ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा एनआईएमबिको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ९६ लाख रुपैयाँ ऋणात्मक छ ।

नबिल बैंककै इपिएस धेरै

तीन बैंकमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (इपिएस) नबिल बैंककै देखिएको छ । बैंकको यस्तो आम्दानी २५ रुपैयाँ २१ पैसा छ । यस्तै, ग्लोबल आइएमई बैंकको १७ रुपैयाँ र एनआईएमबिको १५ रुपैयाँ २० पैसा रहेको छ ।

निक्षेप संकलन र कर्जा लगानीमा ग्लोल आइएमई अगाडि, खराब कर्जा कुनको कति ?

तेस्रो त्रैमासम्ममा निक्षेप संकलन र कर्जा लगानीको आधारमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ ।

समिक्षा अवधिमा बैंकले ४ खर्ब ९ अर्ब ८८ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ६२ अर्ब ८ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, नबिलले भने ३ खर्ब ६३ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । समिक्षा अवधिमा बैंकले ३ खर्ब २३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, एनआइएमबिले भने ३ खर्ब ५० अर्ब १९ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ११ अर्ब २४ करोड ८६ लाख रुपैयाँ कर्जाृ लगानी गरेको छ । समिक्षा अवधिमा तीन बैंकमध्ये ग्लोबल आइएमई बैंकको खराब कर्जा धेरै देखिएको छ ।

सो अवधिमा बैंकको खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ। यस्तै, एनआइएमबिको खराब कर्जा ३.९४ प्रतिशत र नबिलको ३.८७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्