बैंकहरुले सरकारलाई बुझाउने १ अर्ब बढी आयकर गायब: अझै घट्न सक्ने, कुन बैंकले कति तिरे ?

काठमाडौं । वाणिज्य बैंकहरुले सरकारलाई करिव २० अर्ब रुपैयाँ आयकर बुझाएका छन् । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले ९ महिनामा १९ अर्ब ९९ करोड ७५ लाख ७६ हजार रुपैयाँ आयकर सरकारलाई बुझाएका हुन् ।
बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तर, गत आवको समिक्षा अवधिको तुलनामा भने बैंकहरुले सरकारलाई बुझाउने आयकर घटेको छ । वित्तीय रिपोर्टअनुसार बैंकहरुको यस्तो ५.५९ प्रतिशतले घटेको हो । गत आवको समिक्षा अवधिको तुलनामा यस वर्ष बैंकहरुले सरकारलाई बुझाउने आयकर १ अर्ब १८ करोड ४९ लाख रुपैयाँले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।
पछिल्लो समय अर्थतन्त्रमा संकुचन देखिएका छन् । जसले बैंकहरुको नाफामा समेत असर गरेको छ । नाफा प्रभावित भएसंगै सरकारले पाउने करमा पनि कमी देखिएको हो । पछिल्लो समय खराब कर्जाृ वृद्धिले पनि अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा चुनौति थपिएको छ । बैंकहरुको नाफा पनि उत्साहजनक छैन । जसले बैंकहरुबाट सरकारले संकलन गर्ने करमा पनि कमी आएको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले सार्वजनिक कार्यक्रममै बताएका थिए । ब्याजको लागत घटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको भनाई थियो । उनले खराब कर्जा वृद्धिले अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा चुनौति बढेको भन्दै यस क्षेत्रबाट उठ्ने कर पनि ८ देखि १० अर्बसम्म घट्ने बताएका थिए । नाफामा संकुचन आएपछि गत वर्षको तुलनामा यस वर्ष करिव १ दर्जन बैंकहरुको आयकर घटेको छ ।
नबिलले तिर्यो सबैभन्दा धेरै आयकर, एक थप साढे ७५ करोड बुझायो
चालु आवको तेस्रो त्रैमासिक वित्तीय रिपोर्टअनुसार नबिल बैंकले सबैभन्दा धेरै कर बुझाएको छ । बैंकले २ अर्ब १९ करोड २७ लाख १८ हजार रुपैयाँ आयकर सरकरालाई बुझाएको हो ।
गत आवको समिक्षा अवधिको तुलनामा यस वर्ष बैंक थप ७५ करोड ६१ लाख ७४ हजार रुपैयाँ बढी कर सरकारलाई बुझाएको हो । गत आवको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४३ करोड ६५ लाख ४४ हजार रुपैयाँ आयकर तिरेको थियो । बैंकले चालु आवको ९ महिनामा ५ अर्ब बढी खुद नाफा कमाएको छ ।
एनआईसी एशिया, गलोबल आठ बैंकले बुझाए १ अर्ब बढी आयकर
आठ वटा बैंकले सरकारलाई १ अर्बभन्दा बढी आयकर बुझाएका छन् । नबिलपछि सरकारलाई धेरै कर बुझाउनेको दोस्रो स्थानमा एनआईसी एशिया बैंक छ । बैंकले ९ महिनामा सरकारलाई १ अर्ब ७२ करोड ६ लाख ८२ हजार रुपैयाँ आयकर बुझाएको हो ।
यस्तै, अन्य सूचकमा अब्बल मानिने ग्लोबल आइएमई बैंकले चालु आवको ९ महिनामा १ अर्ब ७० करोड १६ लाख ३३ हजार रुपैयाँ आयकर सरकारलाई तिरेको छ । गत आवको समिक्षा अवधिको तुलनामा भने बैंकले २४ करोड ९० लाख बढी कर तिरेको हो ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ३० करोड ५४ लाख, एनएमबिले १ अर्ब १३ करोड २६ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।
स्टाण्डर्ड चार्टर्डले १ अर्ब ११ करोड ८६ लाख, एभरेष्टले १ अर्ब ६ करोड ६३ लाख र प्राइम बैंकले १ अर्ब ५ करोड ६३ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।
१० बैंकको आयकर घट्यो
चालु आवको ९ महिना १० वटा बैंकहरुको आयकर भने घटेको छ । गत आवको समिक्षा अवधिको तुलनामा यस वर्ष प्राइम बैंक, प्रभु बैंक, सिद्धार्थ, माछापुच्छ्रे, कुमारी, सिटिजन, सनराइज, नेपाल बैंक र कृषि विकास बैंकको आयकर घटेको छ ।
समिक्षा अवधिमा प्राइम बैंकले सरकारलाई बुझाउने आयकर गत वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ । सो अवधिमा बैंकले सरकारलाई बुझाउने आयकर १२ करोड १४ लाख रुपैयाँले घटेको हो । बैंकको नाफामा संकुचन आएपछि तिर्ने कर पनि घटेको हो ।
यस्तै, प्रभु बैंकले चालु आवको ९ महिनामा ७२ करोड ३५ लाख ५८ हजार आयकर बुझाएको छ । तर, गत आवको समिक्षा अवधिको तुलनामा भने बैंकले सरकारलाई बुझाउने करमा ५ करोड ३२ लाखले कमी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ७७ करोड बढी कर तिरेको थियो ।
यस्तै, सिद्धार्थ बैंकले ६४ करोड ७३ लाख रुपैयाँ बढी कर सरकारलाई बुझाएको छ । तर, गत आवको चैत मसान्तसम्मको तुलनामा भने २७ करोड ५२ लाख रुपैयाँले कमी हो ।
गत आवको चैत मसान्तसम्मको तुलनामा यस वर्ष माछापुच्छ्रे बैंकको आयकर ८ करोड ५६ लाख, कुमारीको २२ करोड ८७ लाख, सिटिजनको ११ करोड ९८ लाख, सनराइजको ४ करोड ५९ लाख रुपैयाँले घटेको छ । यी बैंकहरुले चालु आवको ९ महिनामा क्रमशः ५७ करोड ९४ लाख, ५५ करोड ७८ लाख, सिटिजनको ५४ करोड ७७ लाख र ५० करोड १८ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका थिए ।
यता, २१ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम कर कृषि विकास बैंकले तिरेको छ । समिक्षा अवधिमा बैंकले ४१ करोड ५४ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको हो । तर, गत आवको तेस्रो त्रैमासको तुलनामा भने ४८ करोड ४५ लाख रुपैयाँले कमी हो ।
त्यसैगरि नेपाल बैंकको आयकर पनि १ करोड ६० लाख रुपैयाँले घटेको छ । चालु आवको ९ महिनामा बैंकले ४४ करोड ५४ लाख रुपैयाँ आयकर सरकारलाई तिरेको छ ।
कुन बैंकले कति बुझाए सरकारलाई कर ?
