फेरि सेयर बजार बढाउने खेल, मौद्रिक नीतिका कतिपय प्रावधान सेयर बजार लक्षित « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

फेरि सेयर बजार बढाउने खेल, मौद्रिक नीतिका कतिपय प्रावधान सेयर बजार लक्षित



काठमाडौं । राष्ट्र बैंकले ‘सजगता पूर्वक केही लचिलो बनाइएको’ भनेको मौद्रिक नीतिले पुनः सेयर बजारलाई नै पोस्ने संभावना बढेको छ । सिंगो अर्थतन्त्र सुस्ताएको स्वीकार गरेसँगै केन्द्रिय बैंकले आन्तरिक बजारलाई चलायमान बनाउने सेयर बजारलाई अप्रत्यक्ष पृष्ठपोषण गर्ने उपाय अघि सारेको हो ।

यसअघि कोभीडको कारण थलिएको अर्थतन्त्रलाई उकास्न पनि केन्द्रिय बैंकले सेयर बजारलाई एक प्रभावकारी हतियारको रुपमा अघि बढाएको थियो । यसका लागि राष्ट्र बैंकले केही महत्वपूर्ण नीतिगत परिवर्तन गरेको छ । बजारमा अधिकतर ब्याजदर घटाउन केन्द्रिय बैंकले विद्यमान बैंक दर (स्थायी तरलता सुविधाको दर)लाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा झारेको छ । यसले निक्षेपको ब्याजदर अझै क मगर्न सघाउँछ र बैंकहरुलाई कर्जाको ब्याजदर घटाउन उत्प्रेरित गर्छ ।

त्यस्तै लगातार दुई त्रैमाससम्म ऋणत्मक हालतमा रहेका आर्थिक क्षेत्रसँग जोडिएका व्यवसायलाई पुनरकर्जा प्रदान गर्ने भनिएको छ । यस्तो पुनरकर्जा उत्पादनमुलक क्षेत्र, निर्माण क्षेत्र र खुद्रा ब्यापार क्षेत्रले प्राप्त गर्ने देखिन्छ । यसका लागि केन्द्रिय बैंकले आफूसँग उपलब्ध स्रोतको सीमाभित्र रहेर काम गर्ने भनेको छ । यो नीति कति समय कायम रहन्छ, अहिले खुलाइएको छैन । तर राष्ट्र बैंकले एक पटकमा ६ महिनाका लागि दिने यस्तो पुनरकर्जा एकसाथ ५७ अर्ब रुपैयाँ बजारमा पठाउनसक्ने सामथ्र्य राख्छ ।

यसअघि नै सरकारी ठेक्का पाएर निर्माण कार्य सकेका, तर भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीलाई राहत दिन पुनरकर्जा सुविधा सुरु गर्ने भनिएको थियो । अब यसलाई सिमेण्ट तथा डण्डी र कतिपय उत्पादनमुलक क्षेत्रलाई समेत जोडेर ल्याउन खोजिएको छ । यसअघि पटक पटक गरेर झण्डै ३ खर्ब पुनरकर्जा दिएको राष्ट्र बैंकले त्यस्तो गल्ति पुनः दोहोराउने कोसिस गरेको छ । यसबाट अर्बपतिहरुको हातमा मोटो रकम पुग्ने र त्यो पैसा सेयर बजारमा लगाइने संभावना उच्च छ । यसअघि पनि पुनरकर्जा र चालु पूँजी प्रकृतिको कर्जा सहजिकरण गरेपछि सेयर बजारले कीर्तिमानी उचाइको बाटो समातेको थियो ।

होटेल तथा रेस्टुरेण्ट, पशुपन्छी पालन र निर्माण क्षेत्रसम्बद्ध पुरै कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई समेत आगामी असार मसान्तभित्र पुनःसंरचना र पुनःतालिकीकरण गर्ने सुविधा दिइएको छ । यसले पनि धेरै व्यवसायीलाई तत्कालको कमाईको पैसा अहिले घटेको सेयर बजारतर्फ मोड्न अवसर प्रदान गर्ने छ ।

अल्पकालिन तथा चालू पुँजी कर्जालाई पनि नियमित ब्याज तिरेको अवस्थामा ३ महिनाको म्याद थप्ने सुविधा दिइएको छ । यसले पनि ३ महिनाको अवधिमा सेयर बजारमा पैसा लगाएर नाफा असुल्ने बाटो सुनिश्चित गरिदिएको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख डा प्रकाशकुमार श्रेष्ठले कोरोना माहामारीपछि करीव १५ लाख युवाले देश छाडेका कारण अर्थतन्त्रको समष्टिगत मागमा कमी आएको बताउँदै आएका छन् । तर उनको तर्कले अहिलेको उपभोगको ‘ग्याप’लाई भर्ने अवस्था देखिँदैन । गत साउनदेखि चैतसम्म नेपालको चालु खाता ५२ अर्ब घाटामा छ । जबकी, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीलेमात्रै ६७ अर्ब बाहिर लगेका छन् । तथ्यांकको यस्तो चित्रले श्रेष्ठको विचार ठीकै हो की ? जस्तो लागे पनि वास्तविकता त्यसो होइन ।

झण्डै ३ करोड जनसंख्या भएको मुलुकमा कोभिडलगत्तै जनगणना गर्दा २१ लाख हाराहारी नेपालीमात्रै परिवारमा अनुपस्थित रहेको पाइएको थियो । त्यसयता १५ लाख मानिस थपिए पनि यसबीचमा कति नेपाली स्वदेश फर्किए भन्ने तथ्यांक उपलब्ध छैन । यसले अझै पनि विदेशमा रहेको नेपालीको वास्तविक संख्या ३० लाखभन्दा कम नै रहेको देखिन्छ । अर्थात् वास्तविक अनुपस्थित जनसंख्य बढीमा १ लाख हाराहारीमात्रै बढेको हो । यो देशको कुल जनसंख्याको ०.४ प्रतिशतभन्दा कम हो ।

वास्तवमा अहिले सबै खालका सम्पत्तीको मूल्य घटेको छ । कयौं क्षेत्रमा रोजगारी कटौति भएको छ । यसले आम रुपमै मानिसहरुको क्रय शक्तिमा ह्रास आएको छ । फलस्वरुप खुद्रा कारोबारको अर्थतन्त्र खुम्चिएको सरकारी तथ्यांकले नै देखाउँछ । यस्तो बेला ३० लाखभन्दा धेरै सेयर लगानीकर्तामार्फत् अर्थतन्त्रलाई चलायनमान बनाउने उपाय खोज्न राष्ट्र बैंक तयार देखिएको अर्थशास्त्री बताउँछन् ।

अहिले नै बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६२ अर्बभन्दा धेरै लगानीयोग्य पैसा रहेको सीडी रेसियोको विवरणले देखाउँछ । भलै यसमा बैंक तथा वित्तीय संस्थाको ऋणपत्र र स्थानीय तहको निक्षेपलाई समेत जोडिएको छ । यी सबलाई हटाउने हो भने पनि ७३ अर्बभन्दा धेरै रकम तत्कालै बैंकले कर्जा दिनसक्ने हालतमा छन् । राजस्वमा चोट पुगे पनि आयातमा भएको कमीका कारण भुक्तानी सन्तुलनमा सुधार आइरहेको छ । यसले भविष्यमा बैंकहरुको निक्षेपमा सुधार हुने दाखाउँछ ।

अहिले राष्ट्रसँग झण्डै ११ अर्ब डलर विदेशी विनिमय सञ्चिति जम्मा भएको छ । सामान्य अवस्थामा पनि नेपालका लागि ९ देखि १० अर्ब डलर सञ्चिति भए पुग्छ । अर्कोतिर आर्थिक वर्षभरीमा साढे १२ प्रतिशतले कर्जा बढाउने लक्ष्य अघि सारेको राष्ट्र बैंकले चैत मसान्तसम्म ४ प्रतिशतमात्रै कर्जा बढेको बताएको छ । यसले पनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउन राष्ट्रबैंकमाथि दबाब बढेको देखाउँछ ।

अहिलेको अवस्थामा बैंकहरुले अधिक नाफा राखेर ऋणीमाथि दोहन गरिरहेका छन् । राष्ट्र बैंकका अनुसार चैत मसान्तमा भारित औसत ब्याजदर अन्तर ४.५८ प्रतिशत रहेको छ । जबकी एक वर्षअघि यस्तो अन्तर साढे ३ प्रतिशत विन्दु हाराहारीमात्रै थियो । यसले पनि ब्याजदर अझ घट्न प्रसस्त ठाउँ रहेको देखाउँछ ।

राष्ट्र बैंकले बजारमा तरलता बढाउने र ब्याजदर घटाउने नीति लिएसँगै कर्जा सहज हुनेमात्र होइन, ब्याजदर घट्ने पृष्ठभूमि तयार भएको छ । यस्तो कर्जा सर्वप्रथम सेयर बजारमा प्रवाह हुने छ । किन की, अहिले सेयर बजार नै सबैभन्दा सम्भाव्य बृद्धिको ‘प्लेटफर्म’ हो ।


प्रतिक्रिया दिनुहोस्