यो वर्ष निक्षेप र कर्जाबीच ठुलो अन्तर: बैंकहरुमा कर्जाको माग न्यून, घट्दैछ सिडी रेसियो « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

यो वर्ष निक्षेप र कर्जाबीच ठुलो अन्तर: बैंकहरुमा कर्जाको माग न्यून, घट्दैछ सिडी रेसियो



काठमाडौं । बैंकहरुमा कर्जाको माग समेत हुन छोडेको छ । केही समय अघि कर्जाको माग भएतापनि तरलता अभावका कारण बैंकहरुले ऋण प्रवाह गर्न सकेका थिएनन् ।

अहिले बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने निकै कम रहेको नेपाल बैंकर्स संघबाट प्राप्त एक तथ्यांकले देखाएको हो ।

चालु आवको १० महिनामा बाणिज्य बैंकहरुमा ३ खर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको छ । तर, कर्जा प्रवाह भने १ खर्ब २३ अर्ब रुपैयााँ मात्रै रहेको छ । यसरी निक्षेप र कर्जाको वृद्धिमा ठुलो अन्तर देखिदाँ कर्जाको माग नभएको पुष्टी भएको हो । तथ्यांकअनुसार बैशाखमा बाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह नै १० अर्ब ७६ करोड रुपैयाँले घटेको छ ।

बैशाख मसान्तसम्म बाणिज्य बैंकहरुमा कुल निक्षेप भने ४८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । कुल कर्जा प्रवाह भने ४२ खर्ब ९९ अर्ब रुपैयाँ मात्रै पुगेको छ । यसरी बैंकहरुको कुल कर्जा र निक्षेपमा पनि ठुलो अन्तर देखिएको छ । बैंकमा कर्जा भन्दा निक्षेप नै बढी हुन्छ । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउछन् । तर, यो बर्ष निक्षेप र कर्जाबीच ठुलो अन्तर देखिएको हो ।

बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग नभएको हो । अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसायमा पनि मन्दी आएको छ । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा किन्न सक्ने अवसस्था छैन । यस्ता कारण पनि बैंकहरुमा कर्जाको माग नभएको बैंकरहरु बताउँछन् । अहिले कर्जाको ब्याजदर घट्दा पनि कर्जाको माग नबढेको बताइएको छ ।

घट्दै सीडी रेसियो

कर्जाको माग नभएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ ।

गत साउनमा ८८.०७ प्रतिशत रहेको सीडी रेसियो बैशाख मसान्तसम्म आउँदा ८४.८८ प्रतिशतमा झरेको छ । यस तथ्यांकअनुसार बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् ।

बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले बैंकहरुको सीडी रेसियो ८५ प्रतिशत भन्दा पनि कम छ । यसले बैंकहरु कर्जा प्रवाह गर्ने मामलामा सहज अवस्थामा रहेको पुष्टी हुन्छ ।


प्रतिक्रिया दिनुहोस्