एनआइसी एशिया बैंकका ग्राहकहरूलाई एक हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआइसी एशिया बैंकका आफ्ना ग्राहकहरूलाई कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा आकर्षक छुट पाउने भएको छ । काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेटमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकहरूले यो फाइदा उपभोग गर्न सक्नुहुनेछ ।
जसअन्तर्गत स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुने दुबै पक्षबीच समझदारी भएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पु¥याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढावा दिनका लागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्य लिएको छ । मुलुकमा भुक्तानीको माध्यम उत्साहजनक रुपमा नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।