राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९÷८० को दश महिनाको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।
त्यसतै, आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ ।
यस अवधिमा शोधनान्तर स्थिति रु.२१४ अर्ब ६७ करोडलेबचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति रु.१४७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ ।
साथै, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.३ प्रतिशत रहेको छ ।