नाफामा नबिल बैंक खप्पिस: सेकेन्ड पोजिशनमा ग्लोबल, कृषि विकासले एकाएक बढाउँदा कुमारीको कसरी घट्यो ?

काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफा ५७ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु गत बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले गत फागुन महिनाको तुलनामा भने ८ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।
तीन महिनाको अवधिमा बैंकहरुको नाफा १७.०८ प्रतिशतले वृद्धि भएको हो । गत फागुन मसान्तसम्ममा बैंकहरुले ४८ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेका थिए । समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । अधिकांश बैंकको खुद नाफा दोहोरो अंकमा बढेको छ । बैशाखसम्ममा सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले बढाएको छ । हिमालयन बैंकको पनि उच्च दरमा बढेको छ । तर, कुमारी बैंकको नाफामा भने गिरावट देखिएको छ ।
नाफामा खप्पिस नबिल बैंक, सबैभन्दा धेरै कमायो नाफा
खुद नाफामा नबिलले अग्रता कायमै राखेको छ ।समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । अन्य बैंकहरुले नाफामा नबिललाई उछिन्न सकिरहेका छैनन् । तीन महिनामै बैंकले ७९ करोड ४२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको हो ।
चालु आवको १० महिनामा नबिलले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत फागुन मसान्तसम्मको तुलनामा १४.९१ प्रतिशतले बढी हो । गत फागुन मसान्तसम्ममा बैंकले ५ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफामा ग्लोबल आइएमईको सेकेन्ड पोजिशन, ३ महिनामा २२ प्रतिशतले बढायो नाफा
खुद नाफाका आधारमा ग्लोबल आइएमई बैंक दोस्रो पोजिशनमा छ । चालु आवको १० महिनामा बैंकले ५ अर्ब बढी नाफा कमाएको छ ।
गत फागुन मसान्तसम्ममा बैंकले ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, बैशाख मसान्तसम्म आइपुग्दा बैंकले २२.१५ प्रतिशतले बढाएर ५ अर्ब ३४ करोड ११ लाख पुर्याएको छ । तीन महिनामा बैंकले ९६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
कृषि विकास बैंकको नाफा तीन गुणाले बढ्यो नाफा
कषि विकास बैंकले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिमा बैंकको नाफा झण्डै तीन गुणाले बढेको छ । बैंकले गत फागुन मसान्तसम्ममा ४१ करोड १२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । तर, बैशाख मसान्तसम्म आईपुग्दा बैंकले १९७.२७ प्रतिशतले नाफा बढाएको छ । बैशाख मसान्तसम्म बैंकले कुल १ अर्ब २२ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
एनआइसीलाई पच्छ्याउँदै राष्ट्रिय वाणिज्य बैंक, पछिपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
समिक्षा अवधिमा एनआईसी एशिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत फागुनको तुलनामा ८.२४ प्रतिशतले बढी हो ।
खुद नाफाको आधारमा एनआईसीलाई सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पच्छ्याएको छ । राष्ट्रिय वाणिज्य बैंकले तीन महिनामा २०.३७ प्रतिशतले नाफा वृद्धि गरि ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । गत फागुन मसान्तसम्ममा आरविविले कुल ३ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) लाई पछि पारेको हो ।
गत फागुन मसान्तसम्म चौँथों स्थानमा रहेको एनआइएमबि बैशाख मसान्तसम्म आईपुग्दा भने पाँचौं पोजिशनमा झरेको छ । गत फागुनसम्म ३ अर्ब ४९ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो । तर, चालु आवको १० महिना अर्थात बैशाख मसान्तसम्म आईपुग्दा भने ११.६२ प्रतिशतले बढाएर ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
कुमारी बैंकको नाफा २४ करोडले घट्यो
समिक्षा अवधिमा कुमारी बैंकको मात्रै नाफा घटेको छ । तीन महिनामा बैंकको खुद नाफा २४ करोड १२ लाख रुपैयाँले घटेको हो ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । तर, बैशाख मसान्तसम्म आईपुग्दा भने बैंकको नाफा १७.७ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ३ लाख रुपैयाँ कायम भएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा पनि बैंकले सोही हाराहारीमा नाफा कमाएको थियो । बैंकको अन्य खर्च बढेकाले नाफा घटेको हुन् सक्ने बताइएको छ ।
आठ वटा बैंकको नाफा २ अर्ब माथि, हिमालयनको उच्चदरमा वृद्धि
समिक्षा अवधिमा हिमालयन बैंकको खुद नाफा पनि उच्च दरमा वृद्धि भएको छ । तीन महिनामा बैंकको नाफा ४८.०७ प्रतिशतले बढेर २ अर्ब ६४ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत फागुनमा भने बैंकले १ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
हिमालयन बैंकसहित आठ वटा बैंकको नाफा २ अर्बमाथि देखिएको छ । बैशाख मसान्तसम्म एनएमबि बैंकको नाफा १३.०९ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
बैशाख मसान्तसम्म आईपुग्दा प्राइम कमर्सियल बैंकले पनि २ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन, गत फागुन मसान्तसम्मको तुलनामा भने १७ प्रतिशतले बढी हो । सो अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकले पनि २ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, समिक्षा अवधिमा एभरेष्ट बैंकको खुद नाफा पनि २३.४४ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत फागुन मसान्तसम्ममा २ अर्ब २३ करोड ४७ करोड रुपैयाँ नाफा कमाएको थियो । तर, बैशाख मसान्तसम्म आईपुग्दा भने बैंकको नाफा ५२ करोड ३९ लाख रुपैयाँ बढाएर २ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा नेपाल बैंकले २ अर्ब ४६ करोड १६ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब ३१ करोड २ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २ अर्ब ६५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी बैंकहरुको नाफा गत फागुन मसान्तसम्मको तुलनामा क्रमश: १६.३९ प्रतिशत, ४.०६ प्रतिशत र २२.०७ प्रतिशतले बढी हो ।
अन्य कुनको बैंकको नाफा कति ?
समिक्षा अवधिमा सानिमा बैंकले १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत फागुन मसान्तसम्मको तुलनामा १० प्रतिशतले बढी हो ।
बैशाख मसान्तसम्म सिद्धार्थ बैंकको खुद नाफा १५.५६ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यस्तै, माछापुच्छ्रे बैंकको नाफा ९.६६ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ३८ लाख, लक्ष्मी बैंकको ७.१९ प्रतिशतले बढेर १ अर्ब ४६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरि सिटिजन बैंकले पनि तीन महिनामा १३.५७ प्रतिशतले नाफा वृद्धि गरि १ अर्ब ४३ करोड ३ लाख रुपैयाँ पुर्याएको छ । यता, सनराइज बैंकले पनि २६.०९ प्रतिशतले नाफा वृद्धि गरि १ अर्ब ३७ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।
