हराउने भयो आरएमडिसिको नाम, सम्झौता विपरित राष्ट्र बैंकको अन्तिम स्वीकृति, डिसिओमा पनि अन्यौल !

काठमाडौं । लामो समयदेखि गरिबको साहारा बन्दै आएको आरएमडिसि लघुवित्त वित्तीय संस्थाको नाम अब नसुनिने भएको छ । कम्पनीले गत भदौ ३१ गते कम्पनीले साना किसान विकास लघुवित्त वित्तीय संस्थासँग १:०.८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेको थियो । सहमति अनुसार कम्पनीको नाम साना किसान आरएमडिसि लघुवित्त हुने भनिएकोमा राष्ट्र बैंकको अन्तिम स्वीकृतिमा साना किसान विकास लघुवित्त आएसँगै कम्पनीको नाम नै हराएको हो ।
राष्ट्र बैंकले मर्जर पछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार अघि बढ्ने गरी जेठ २४ गते अन्तिम स्वीकृति प्रदान गरेको छ । सम्झौता विपरित नाम आएपछि आरएमडिसी लघुवित्तका तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीमा असन्तुष्टि पैदा भएको छ ।
कम्पनीहरुको अन्तिम स्वीकृति र साधारण सभाबाट मर्जपछि साना किसान आरएमडिसि लघुवित्तको नाम रहने प्रस्ताव पारित भएपनि राष्ट्र बैंकको अन्तिम सम्झौतामा फरक आएको आरएमडिसि लघुवित्तका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले बताए । समझदारी विपरितको नाम आए पछि राष्ट्र बैंकसँग छलफल गर्दा बोर्डबाट आएको निर्णय अनुसारको काम भएको प्रतिक्रिया आएको थापाले जनाए । उनले भने, “समझदारी विपरितको अन्तिम स्वीकृत भएपछि हाम्रो बोर्डसहित राष्ट्र बैंकको नियमन विभागमा छलफल भएको हो । अब नाम टुङ्गो लागि सकेको र अब परिवर्तन गर्ने नसकिने जानकारी आयो ।”
“साना किसानका लागि भनेर बजेट बाटै ८।९ अर्ब रुपैयाँ ब्यवस्था गरेको र बजेट कार्यन्वयन गर्न संस्था साना किसान भनेर उल्लेख नै भएको रैछ । त्यसलाई सहजीकरण गर्नेका लागि नाम फरक पर्दा समस्या हुने हुदाँ सो निर्णय गरेको प्रतिक्रिया आयो ” थापाले भने ।
राष्ट्र बैंकले अब नाममा परिवर्तन नहुने भनेसँगै आरएमडिसि लघुवित्तको इतिहास नै मेटिने भएको छ । “राष्ट्र बैंकलाई हामीले यति ठूलो इतिहास भएको लघुवित्त त मिटिने भयो । बैंकले भने बमोजिम हामीले सबै नियम मानेर मर्जरमा गयौ । यदि नाम नै परिवर्तन हुने भएको भए मर्जर प्रक्रिया नै अगाडि बढने पनि थिएन” थापालेभने । प्राम्भिक सम्झौता अनुसार मर्जरपछि हुने कम्पनी सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । तर, आरएमडिसि लघुवित्तका सीइओ ओझाको कार्यकाल समाप्त भई कम्पनीको कार्यवाहक सिइओमा पृथ थापा रहेका छन् । नाममा परिवर्तन भएसँगै सीइओ पछिको कार्यकारी पद आरएमडिसि लघुवित्तले पाउने हो कि होइन भन्ने अन्यौल पनि सिर्जना भएको छ ।
राष्ट्र बैंकले यी दुई लघुवित्तहरुलाई असार २४ गते भित्र एकीकृत कारोबार गर्ने निर्देशन समेत दिएको छ ।