साढे ४ प्रतिशतको बिन्दुमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा « Arthapath.com
१५ असार २०८२, आईतबार

साढे ४ प्रतिशतको बिन्दुमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा



काठमाडौं । अन्तर बैंक कारोबारको ब्याजदर पनि निरन्तर घट्न थालेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि ह्वात्तै घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ । शनिबार मात्रै अन्तर बैंक ब्याजदर ४.७२ प्रतिशत थियो । एकै दिनमा त्यो ०.२१ प्रतिशत बिन्दुले घटेको हो ।

बिशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो । बैंकहरुमा तरलता अभाव हुदाँ निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको व्याजदर अर्थात् अन्तर बैंक ब्याजदर पनि बढेको थियो । गत फागनुमा यस्तो ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो ।

चैत र बैशाखमा भने त्यो ७ प्रतिशत हारहारी थियो । तर, जेठको दोस्रो साताबाट अन्तर बैंक ब्याजदर घट्न थालेको थियो । हालसम्म आउँदो त्यो साढे ४ प्रतिशतको हाराहारीमा आएको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, यसअघि गत माघमा पनि अन्तर बैंक ब्याजदर ४ प्रतिशतसम्म झरेको थियो । त्यसपछि भने बढेको थियो ।

अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन । त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ । यसरी तरलता बढेपछि अन्तर बैंक कारोबार पनि छैन । त्यसले गर्दा यस्तो ब्याजदर घटेको हो ।

हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको हो । गत शनिबारसम्मको तथ्याङ्कमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो । तर, कर्जाले १ अर्बले मात्रै वृद्धि भएको छ । शनिबारसम्म ४८ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, भोलिपल्ट अर्थात गत आइतबारसम्म भने १ अर्बले बढेर ४८ खर्ब ५५ अर्ब रुपैयाँ पुगको छ ।

बाणिज्य बैंकमा एकैदिन ६ अर्बले निक्षेप वृद्धि भई ४९ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । आइतबारसम्म आईपुग्दा सो बराबरको निक्षेप भित्रीएको हो । गत शनिबारसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ४९ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । आइतबारसम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको कर्जा लगानी भने हुन सकेको छैन अर्थात स्थिर छ । वाणिज्य बैंकहरुले ४२ खर्ब ९८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । एक दिनमै सीडी रेसियो शून्य दशमलव ५ प्रतिशतले घटेको छ । योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो आइतबारसम्म ८३.८८ प्रतिशत कायम भएको छ । शनिवबारसम्म भने ८३.९३ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।


प्रतिक्रिया दिनुहोस्