कर्जाको ब्याजदर पनि घट्यो: पाँच बैंकको ‘बेस रेट’ एकल अंकमा, अब ऋण लिनका लागि कुन बैंकको ब्याज सस्तो ?

काठमाडौं । हाल दुई सरकारी बैंकसहित पाँच वटाको आधार दर (बेस रेट) एकल अंकमा छ । राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नेपाल, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा छ । यी बैंकहरुको आधार दर १० प्रतिशत तल छ । यी बैंकहरुबाट ऋण लिँदा सस्तो ब्याज लाग्नेछ । बैंकको आधार दरले नै ऋण लिँदा सस्तो र महँगो पर्ने भन्ने संकेत गर्दछ ।
ऋण लिन चाहनेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैंक छनोट गर्छन् । कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छ भन्ने अनुमान यसैका आधारमा लगाउन सकिन्छ । कम आधार दर भएको बैंकले बजारमा प्रतिस्पर्धी ब्याजमा कर्जा दियो भने पनि उसलाई पर्याप्त नाफा सुरक्षित गर्ने ठाउँ रहन्छ । आधार दर कम भएका बैंकले बढी प्रिमियम लगाउँदा पनि बढी आधार दर भएका बैंकले लिने कर्जाको ब्याजदरसँग प्रतिस्पर्धी हुन्छन् । यसले आधार दर कम हुनु भनेको बैंकको नाफाका हिसाबले पनि सकारात्मक हुन्छ ।
संचालनमा रहेका २१ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाईनेछ । बैंकको आधार दर ८.२४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा २ प्रतिशतदेखि ५ प्रतिशतसम्ममा प्रिमियम जोडिने छ । अन्तरराष्ट्रिय भुक्तानीका लागि नेपालमा एजेन्सी बैंकिङ गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक भने दोस्रो स्थानमा रहेको छ । बैंकका आधार दर ९.२९ प्रतिशत रहेको छ । बैंकबाट पनि ऋण लिँदा २ प्रतिशतदेखि ५.७५ प्रतिशतसम्म प्रिमियमम जोडिने छ ।
सबैभन्दा कम आधार दर हुनेको तेस्रो स्थानमा नेपाल बैंक छ । बैंकको आधार दर ९.५५ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा कर्जाको ब्याजदरमा थप २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ । यस्तै, नबिल बैंकको आधार दर ९.६५ प्रतिशत छ । नबिलबाट ऋण लिँदा पनि अन्य बैंकहरुको तुलनामा सूस्तो ब्याज लाग्नेछ । बैंकले कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ । यसको आधारमा बैंकबाट ऋण लिँदा अधिकतम १४.५ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को आधार दर पनि ९.८४ प्रतिशत छ । बैंकबाट ऋण लिँदा पनि अन्य बैंकहरुको तुलनामा अलि सस्तो पर्नेछ । बैंकले पनि २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपिने जनाएको छ ।
आधार दरमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले ऋण लगानी गर्दछन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ, आधार दर घट्दा ब्याजदर पनि घट्दै आउँछ । वाणिज्य बैंकहरुले असार महिनामा लागि व्यक्तिगत मुद्धति निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, संस्थागत मद्दति निक्षेपमा ७.९९९ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकहरुले बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोको छन् । बैंकहरुले कर्जाको ब्याजदर भने केही घटेको छ । बैंकहरुको बेस रेटको आधारमा कर्जाको ब्याजदर केही घटेको हो । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर शून्य दशमलव २ प्रतिशतदेखि शून्य दशमलव २४ प्रतिशत घटाएका छन् । योसंगै असारमा कर्जाको औसत ब्याजदर १२.४५ प्रतिशत कायम भएको छ । तर, गत बैशाखमा भने यस्तो ब्याजदर १२.६५ प्रतिशत रहेको थियो ।
पछिल्लो अपडेट अनुसार एभरेष्ट बैंकको आधार दर १०.०६ प्रतिशत, सिद्धार्थ बैंकको १०.२१ प्रतिशत, कषि विकासको १०.२१, एनआईसी एशियाको १०.३५, प्रभुको १०.३६, ग्लोबल आइएमईको १०.३७ प्रतिशत रहेको छ ।
यस्तै, एनएमबि बैंकको आधार दर १०.४५ प्रतिशत, सानिमा बैंकको १०.५२ प्रतिशत, प्राइमको १०.८४ प्रतिशत, नेपाल एसबिआईको १०.८५, कुमारीको १०.८८ प्रतिशत छ ।
यता, माछापुच्छ्रे बैंकको आधार दर १०.९२ प्रतिशत, हिमालयन बैंकको १०.९४, सिटिजनको १०.९५, लक्ष्मीको १०.९६ प्रतिशत र सनराइजको ११.१४ प्रतिशत रहेको छ । यसका आधारमा सनराइजबाट ऋण लिँदा सबैभन्दा धेरै अर्थात महँगो ब्याज तिर्नुपर्नेछ ।
कुन बैंकको आधार दर कति ?
