बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रियो: अन्तर बैंक ब्याजदर १.३६% मा झर्यो, अब सबै प्रकारको ब्याजदर घट्ला ?

काठमाडौं । पछिल्लो समयम अन्तर बैंक कारोबारको ब्याजदर निरन्तर घटीरहेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घट्दै गएको हो ।
हाल अन्तर बैंक ब्याजदर एक प्रतिशत बिन्दुको लाइन झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले यस्तो ब्याजदर १.३६ प्रतिशत कायम भएको छ । विशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो ।
हाल बैंकहरुमा निक्षेप उच्च वृद्धि भएको छ । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बढेको छ । राष्ट्र बैंकका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बढेर ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुमा मात्रै ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । बैंकहरुमा तरलता अभाव हुँदा निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको ब्याजदर अर्थात अन्तर बैंक ब्याजदर पनि बढेको थियो ।
गत फागुनमा पनि यस्तो ब्याजदर साढे ८ प्रतिशतसम्म पुगेको थियो । गत चैत र बैशाखमा पनि यस्तो ब्याजदर ७ प्रतिशत हाराहारीमै थियो । तर, जेठ दोस्रो साताबाट भने अन्तर बैंक ब्याजदर घट्न थालेको थियो । हालसम्म आईपुग्दा यस्तो ब्याजदर १.३६ प्रतिशतको बिन्दुमा झरेको हो ।
बैंकहरुमा पछिल्लो समय निरन्तर निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने न्युन अर्थात ठप्प जस्तै छ । त्यसल गर्दा पनि बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिदै गएको छ । यसरी तरलता बढेपछि अन्तर बैंक कारोबार पनि भएको छैन । जसले अन्तर बैंक ब्याजदर घटीरहेको छ ।
निक्षेप निन्तर बढी रहेको अवस्थामा पनि कर्जा प्रवाह ठप्प देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी गत आइतबारसम्ममा ४८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । तर, अघिल्लो दिन पनि सोही नै थियो । अहिले बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने निकै कम रहेको छ ।
बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग नभएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले बताए । उनले भने,–‘ अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । सोही कारण बैंकहरुमा कर्जाको माग नभएको हो ।’
उनका अनुसार हाल बैंकहरु ४ खर्ब बढी ऋण लगानी गर्ने अवस्थामा रहेका छन् । असार मसान्तसम्म बैंकहरुमा थप १ खर्बसम्म निक्षेप थपिन सक्ने उनले बताए । ‘असार मसान्तमा सरकारी भुक्तानी झ्न बढ्ने भएकाले बैंकहरुमा निक्षेप ५० अर्बदेखि १ खर्बसम्म निक्षेप थपिने आंकलन छ । अहिले ऋणको ब्याजदर घटेको छ । आगामी साउनदेखि निक्षेपको ब्याजदर पनि घट्ने छ’– ती सीइओले अर्थपथसंग भने ।
सीडी रेसियो ८२ प्रतिशतमा झर्यो
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८२ प्रतिशत भन्दा तल झरेको छ ।
एक दिनमै सीडी रेसियो शून्य दशमलव २८ प्रतिशतले घटेको छ । योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८२.०३ प्रतिशत कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।
गत वर्षहरु बैंकहरु सीडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए । तर, पछिल्लो समयमा बैंकहरुमा अधिक तरलता थुप्रिएको छ भने कर्जाको माग हुन सकिरहेको अवस्था छैन ।