सानिमा बैंकको लोभलाग्दो प्रगति: खुद नाफा साढे दुई अर्ब माथि, लाभांश क्षमता १७.७३ प्रतिशत

काठमाडौं । सानिमा बैंकले साढे २ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा २५.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ मात्रै रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा वृद्धि भएको छ, जसले खुद नाफा बढ्न टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले वृद्धि भई ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल संचालन आम्दानी २६.७७ प्रतिशतले वृद्धि भई ७ अर्ब ६४ करोड ३५ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
गत आवमा बैंककले आफ्ना सेयरधनीलाई दिन सक्ने लाभांश क्षमता पनि बढाएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख ७४ हजार रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा ७७.५६ प्रतिशतले बढी हो । यसका आधारमा गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई १७.७३ प्रतिशत लाभांश दिन सक्ने सामाथ्र्य बनाएको हो ।
बैंकको चुक्तापुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ९१ करोड ६९ लाख २८ हजार रुपैयाँ राखेको छ । सो अवधिमा बैंकको निक्षेप संकलन दोहोरो अंकमा वृद्धि भएको छ । गत आवमा बैंकको निक्षेप संकलन ११.५१ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कर्जा लगानी पनि ६.५० प्रतिशतले वृद्धि भई १ खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ पुगेका छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा भने झण्डै १ प्रतिशतले वृद्धि भई १.३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि बढेर १५५ रुपैयाँ ५१ पैसा कायम भएको छ ।