७६.८६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा: ब्याज आम्दानी शतप्रतिशत वृद्धि, लाभांश क्षमता कति ?

काठमाडौं । नबिल बैंकले साढे ७ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा नबिलले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको चौंथो त्रैमासमा बैंकले ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी शतप्रति वृद्धि भएको छ । अघिल्लो आवमा ९ अर्ब ९१ करोड ८८ लाख ७१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले गत वर्ष भने १०१.६३ प्रतिशतले वृद्धि भई १७ अर्ब ९८ करोड ३२ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
ब्याज आम्दानी र संचाल नाफामा उल्लेख्य वृद्धि भएसंगै बैंकको खुद नाफामा उछाल आएको हो । समिक्षा अवधिमा बैंकको संचालन नाफा ७५.३७ प्रतिशतले वृद्धि भई ११ अर्ब १ करोड ६० लाख १० हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यसका आधारमा बैंकले सेयरधनी दिन सक्ने लाभांश क्षमता भने १४.६३ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ । हाल कायम चुक्तापुँजीको आधारमा बैंकको लाभांश क्षमता १४.६३ प्रतिशत देखिएको हो ।
बैंकको जगेडा तथा कोषमा भने ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ देखिएको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन २१.६५ प्रतिशतले वृद्धि भई ३ खर्ब ९६ अर्ब ८४ करोड ३४ लाख २१ हजार रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि १०.८२ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अघिल्लो आवको तुलनामा १.५८ प्रतिशतले बढेर ३.२ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ९ रुपैयाँ १८ पैसाले बढाएर २७ रुपैयाँ ८२ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने २१४ रुपैयाँ ६८ पैसा कायम भएको छ ।