नाफामा नबिलको एकाधिकार कायमै: दोस्रोमा ग्लोबल आइएमई, आरविवि, एनआईसी र एनआइएमबिको पोजिशन कुन ?

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा दोहोरो अंकको वृद्धि भएको छ । बैंकहरुले एक वर्षमा खुद नाफा २४.९२ प्रतिशतले बढाएका छन् ।
संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार गत आवभर बैंकहरुले कुल ७० अर्ब १७ करोड ५५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा भने १४ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले कुल ५६ अर्ब १७ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
विशेषगरि बैंकहरुको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफ बढ्न पुगेको हो । गत आवमा बैंकहरुले खुद ब्याज आम्दानी पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो आवमा १ खर्ब ११ अर्ब ९५ करोड ७७ लाख २९ हजार रुपैयाँ ब्याज आम्दानी गरेका बैंकहरुले गत वर्ष भने ४४.४४ प्रतिशतले बढाएका छन् । गत आवमा बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ६१ अर्ब ७२ करोड २ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । दोस्रो स्थानमा भने ग्लोबल आइएमई बैंक देखिएको छ ।यस्तै, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्बमाथि देखिएको छ। समिक्षा अवधिमा कुमारी र प्राइम बैंकको नाफा भने घटेको छ ।
नाफामा नबिल बैंकको एकाधिकार कायमै, साढे ७ अर्ब कमायो
नाफामा भने नबिल बैंकको एकाधिकार कायमै रहेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा नबिलले गरेको छ । समिक्षा अवधिमा नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने ७६.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी नै शतप्रतिशत बढेकाले नै खुद नाफामा बढेको हो । अघिल्लो आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचाल नाफा पनि ७५.३६ प्रतिशतले बढेर ११ अर्ब १ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई एग्रेशिभ बन्दै, नाफामा सेकेन्ड पोजिशन
ग्लोबल आइएमई बैंक पनि आक्रमक नै देखिएको छ । ग्लोबल आइएमई नाफामा दोस्रो पोजिशनमा छ । गत आवमा बैंकले खुद नाफा ४६.२६ प्रतिशतले बढेर ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने बैंकले ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यता, संचालन नाफा पनि ४४.२५ प्रतिशतले बढेर १० अर्ब ३६ करोड ८८ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
राष्ट्रिय वाणिज्य, एनआईसी र एनआइएमबिको नाफा ४ अर्ब माथि
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्यसहित तीन बैंकको नाफा ४ अर्ब माथि छ । समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १४.२६ प्रतिशतले बढी हो ।
बैंकको खुद ब्याज आम्दानी पनि ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यता, संचालन नाफा पनि ६ अर्ब ९० करोड ९५ लाख रुपैयाँ पुगेको छ। जुन, अघिल्लो आवको तुलनामा भने १८.७७ प्रतिशतले बढी हो ।
यस्तै, एनआईसी एशिया बैंकको नाफा पनि १०.३५ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ र संचालन नाफा १४.४५ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ ।
यी हुन् उच्च दरमा नाफा बढाउने आठ बैंक
समिक्षा अवधिमा आठ वटा बैंकहरुले उच्च दरमा नाफा वृद्धि गरेका छन् । अघिल्लो आवको तुलनामा स्टण्डर्ड चार्टर्ड, प्रभु, लक्ष्मी सनराइज एभरेष्टसहित आठ वटा बैंकले नाफा उच्च वृद्धि गरेका हुन् ।
समिक्षा अवधिमा स्टाण्डर्ड चार्टर्डले ५६.२७ प्रतिशतले नाफा बढाएर ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, लक्ष्मी सनराइजले ४९.४५ प्रतिशत, प्रभुले ४८.५३ प्रतिशत, कृषि विकासले ३९.२४, हिमालयनले ३७.९५, एभरेष्टले ३६.८५, नेपाल एसबिआईले ३६.८१ र सानिमा बैंकले २५.१३ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।
यी बैंकहरुले गत वर्ष क्रमश: २ अर्ब २६ करोड १८ लाख, २ अर्ब ८२ करोड ५२ लाख, ३ अर्ब ९ करोड ९३ लाख, ३ अर्ब २६ करोड ६१ लाख, ३ अर्ब ३९ करोड ३१ लाख, २ अर्ब २४ करोड १४ लाख र सानिले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
कुमारी र प्राइम बैंकको नाफा दोहोरो अंकले घट्यो
समिक्षा अवधिमा कुमारी र प्राइम कमर्सियल बैंकको खुद नाफामा भने गिरावट देखिएको छ । कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको खुद ब्याज आम्दानी बढेपनि नाफामा गिरावट आएको हो । समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी भने ७७.११ प्रतिशतले घटेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ कायम भएको छ। बैंकको संचालन नाफा भने १५.२४ प्रतिशतले घटेर ३ अर्ब ३ करोड २१ लाख रुपैयाँ कायम भएको छ।
यता, प्राइम बैंकको नाफा १८.८० प्रतिशतले घटेर २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी ७ अर्ब २७ करोड ९७ लाख र संचालन नाफा १३.७८ प्रतिशतले घटेर ३ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।
कसले कति कमाए ?
