कुन-कुन बैंकमा पैसा राख्दा बढी ब्याज पाइन्छ ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । भोलि अर्थात असोज १ गतेदेखि लागू हुनेगरि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका हुन् ।
भदौको तुलनामा केही बैंकले ब्याजदर बढाएका छन्, केहीले घटाएका छन् । अगामी असोजमा केही बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । तर, सात वटा वाणिज्य बैंकले भने ब्याजदर बढाएका हुन् ।
संचालनमा रहेका मध्ये हिमालयन, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंकले असोजमा बढी ब्याज दिने भएका हुन् ।
हिमालयन बैंकले असोजका लागि १.०६४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोजमा बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।
भदौको तुलनामा एभरेष्ट बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। असोजका लागि बैंकले व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागत तर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको हो ।
असोज महिनाका लागि प्राइम बैंकले कमर्सियल बैंकले ०.८५८ प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.३५८ प्रतिशत र व्यक्तिगत तर्फ ९.३५८ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।
यता, नबिल बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।
यस्तै, नेपाल एसबिआईले पनि भदौ महिनाको तुलनामा ०.०१ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। बैंकले असोजमा १० प्रतिशत ब्याज दिनेभएको छ। यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि ९.२९ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो । भदौको तुलनामा स्ट्याण्डर्डले ०.३७ प्रतिशतले ब्याज वृद्धि गरेको हो ।