राष्ट्र बैंकले बढायो सुन आयातको कोटा, अब दैनिक २० केजी ल्याउन पाउने « Arthapath.com
१० आश्विन २०८०, बुधबार

राष्ट्र बैंकले बढायो सुन आयातको कोटा, अब दैनिक २० केजी ल्याउन पाउने



काठमाडौं । अब दैनिक २० केजी सुन आयात गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयात सम्वन्धि एकीकृत परिपत्र संशोधन गर्दै कोटा वृद्धि गरेको हो ।

यसअघि दैनिक रुपमा १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो । तर, एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले २० केजी सुन ल्याउन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले सुन आयात गर्ने जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ । अब बैंकहरुले दैनिक २० केजी सुन आयात गर्न सक्नेछन् ।

आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आयात गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।

मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाणमा एकमुष्टरूपमा समेत सुन आयात गर्न सकिनेछ । तर, यस्तो एकमुष्टरूपमा आयात गर्दा आगामी दिनको लागि अग्रिमरूपमा आयात गर्न र व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिनामा दैनिक तोकिए बमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् पश्चात्का महिनाहरुमा आयात गर्न नपाइने राष्ट्र बैंकले जनाको छ । तर, कुनै एक महिनाको कुनै समयसम्म दैनिक तोकिए बमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना भित्र त्यस्तो सुन आयात गर्न भने बाधा नपर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्