बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो १४ अर्ब निक्षेप, निरन्तर सुधारिँदै अन्तर बैङ्क ब्याजदर र सिडी रेसियो  « Arthapath.com
१७ आश्विन २०८०, बुधबार

बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो १४ अर्ब निक्षेप, निरन्तर सुधारिँदै अन्तर बैङ्क ब्याजदर र सिडी रेसियो 



काठमाडौं । बैङ्किङ प्रणालीमा एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १४ अर्बले बढेर ५८ खर्ब नाघेको छ । पछिल्लो अपटेड अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । यो गत आइतबार सम्मको तथ्याङ्क हो । त्यसको अघिल्लो दिन अर्थात असोज १३ गतेसम्म भने बैङ्क तथा वित्तीय संस्थासँग कुल ५७ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

यता, वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ५१ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुमा पनि एकैदिन १३ अर्ब रुपैयाँ निक्षेप भित्रिएको हो । गत शनिबारसम्म भने वाणिज्य बैंकहरुमा ५१ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

निक्षेप वृद्धि भएता पनि कर्जा लगानी भने सुस्त देखिएको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ । हाल बैङ्क तथा वित्तीय संस्थाहरूले कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

वाणिज्य बैङ्कहरूकै कर्जा लगानी एकै दिन २ अर्बले बढेको हो । हाल वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानी ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । गत शनिबारसम्म भने बैंकहरुले ४३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

साढे दुई प्रतिशतमा झर्यो अन्तरबैंक ब्याजदर, सीडी रेसियो पनि ८२ प्रतिशत कायम

बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँङै अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घटेको छ । यस्तो ब्याजदर पछिल्लो समय निरन्तर ओरालो लागेको छ । हाल अन्तर बैङ्क कारोबारको ब्याजदर २.५२ प्रतिशत रहेको छ ।

निक्षेप बढ्दै जाँदा कर्जाको माग भने कम छ । जसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै आएको छ ।

हाल सीडी रेसियो ८२ प्रतिशतको बिन्दुमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । राष्ट्र बैंकका अनुसार सीडी रेसियो ८२.०५ प्रतिशत कायमभएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् । गत वर्षहरू बैङ्कहरू सीडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्