बैंकिङ्ग प्रणालीमा अधिक तरलता: २ प्रतिशतको लाइनमा अन्तर बैङ्क ब्याजदर, सिडी रेसियो पनि निरन्तर घट्दै

काठमाडौं । गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ्ग क्षेत्रमा तरलता अभाव व्यापाक रूपमा हुँदै आएको थियो । नेपालको बैंकिङ्ग प्रणालीमा तरलता र लगानीयोग्य पुँजीमा कमी आई ब्याजदर समेत बढेको थियो ।
कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रूपमा पुनरुत्थान हुँदै गएको अवस्थामा रुस–युक्रेन युद्धको असर र आयात तीव्र वृद्धि हुँदा बैंकिङ्ग प्रणालीमा तरलता तथा लगानीयोग्य पुँजी कमी आएको थियो, जसले ब्याजदर पनि बढेको थियो ।
तर, पछिल्लो समय भने बिस्तारै सहज बन्दै आएको छ । बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको छ । बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्दो छ । बैङ्कहरूमा ऋण दिनका लागि मनग्य रकम थुप्रिएको छ । बैंकिङ्ग प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो अपडेट अनुसार हाल बैङ्क तथा वित्तीय संस्थाहरूसँग ५८ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । एकै दिन थपिएको निक्षेप वाणिज्य बैङ्कहरूको मात्रै हो । गत बुधवारसम्म वाणिज्य बैङ्कहरूसँग ५१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, एकै दिन ७ अर्ब रुपैयाँले थपिएर हाल ५१ खर्ब ५० अर्ब नाघेको छ ।
बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिए पनि कर्जा प्रवाह भने हुन सकिरहेको छैन । निक्षेपको तुलनामा कर्जा विस्तार एकदमै सुस्त छ । उच्च ब्याजदरका कारण कर्जाको माग बढ्न नसेको बताइन्छ । विश्व बजारमा देखिएको आर्थिक मन्दी लगायत कारण लगानीको वातावरण बिग्रँदो छ । आर्थिक गतिविधि नबढ्दा पनि कर्जा विस्तार हुन सकिरहेको अवस्था छैन । अर्थतन्त्रमा आएको सङ्कटले पनि कर्जाको माग बढ्न नसकेको जानकारहरू बताउँछन् । हाल बैङ्क तथा वित्तीय संस्थाले ४९ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । एकै दिन ७ अर्बसम्म निक्षेप भित्रिदा कर्जा लगानी भने २ अर्ब मात्रै देखिन्छ । वाणिज्य बैङ्कहरूले हालसम्म ४३ खर्ब ७५ अर्ब कर्जा लगानी गरेका छन् ।
यसरी बैङ्कहरूमा तरलता सहज हुँदै गएपछि अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घट्दै गएको छ । हाल अन्तर बैङ्क ब्याजदर २.४१ प्रतिशतमा झरेको छ । हाल बैङ्कहरूमा निक्षेप उच्च वृद्धि भएको छ, तर कर्जा प्रवाह सुस्त छ । निक्षेपको तुलना कर्जा प्रवाह नहुँदा नै अन्तर बैङ्क ब्याजदर घटेको हो ।
राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि क्रमिक रूपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८२ प्रतिशत भन्दा तल झरेको छ । पछिल्लो अपडेट अनुसार सिडी रेसियो ८१.८४ प्रतिशत आइपुगेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।
गत वर्षहरू बैङ्कहरू सिडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए । तर, पछिल्लो समयमा बैङ्कहरूमा अधिक तरलता थुप्रिएको छ भने कर्जाको विस्तार भने हुन सकिरहेको छैन ।