त्रिशूलीमा बेपत्ता बैंकरः आत्महत्याको कारण र विगत ?

काठमाडौं । कसैका लागि पनि मृत्यु सामान्य होइन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा कार्यरत नीराजन देवकोटाले बैंकको काममा ‘दबाब’ दिएका कारण आत्महत्या गरे भनेर चर्चा भइरहेको छ । निजले ‘सु साइड नोट’ लेखेर त्रिशूलीमा फाल हाने भन्ने पनि खबर आइरहेको छ ।
त्रिशूलीको भेलमा फाल हालेर बेपत्ता भएका देवकोटाको विगत र उनी विरुद्ध आएका गुनासाहरूले आत्महत्याको पछाडि ‘अरू नै’ कारण हुनसक्ने देखाएको छ ।
देवकोटा बैंकको हेटौँडा शाखामा कार्यरत थिए । मर्जरअघि मकवानपुरमा नेपाल इन्भेष्टमेण्टको एउटा र मेगाको दुइटा शाखा थिए । देवकोटा मेगाको एक शाखामा प्रबन्धक थिए । उनी त्यसअघि प्रभु बैंकको शाखा प्रबन्धक थिए । प्रभुको शाखाबाट भल्टको पैसा चलाएको पाइएपछि बैंकले उनलाई जागिरबाट हटाएको थियो ।
त्यसपछि उनी मेगा बैंकमा जागिर खान पुगेका थिए । मेगामा रहँदा पनि उनले केही ऋणीलाई कर्जा दिलाइदिने र एभरग्रिनिङ गरिदिने भन्दै घुस लिने गरेको उजुरी बैंकमा प्राप्त भएको छ । उनको वित्तीय अपचलनबारे उजुरी र गुनासा आएपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नै पनि काठमाडौं स्थित केन्द्रीय कार्यालयबाटै अध्ययन गर्न टोली पठाएको थियो ।
आफू विरुद्ध छानबिन हुन थालेपछि राजीनामा दिएर उम्किन खोजेका थिए देवकोटाले । तर उनको हरहिसाबमा गडबडी देखिएपछि बैंक व्यवस्थापनले उनको राजीनामा स्वीकृत गरेन । बरु उनलाई यसबारे छलफल गर्न भन्दै काठमाडौँमा केन्द्रीय कार्यालय बोलाइएको थियो ।

देवकोटा काठमाडौं जान भनेर हेटौँडाबाट बैंककै अर्का साथीसँग मोटरसाइकलमा हिँडेका थिए । काठमाडौँको बल्खु आइपुगेपछि उनी साथीलाई त्यहीँ छाडेर गल्छी हुँदै गजुरीको घाटवेसी पुलमा पुगेर त्रिशूलीको भेलमा हेलिए । प्रहरीले अहिले पनि उनको खोजी गरिरहेको छ । बैंक व्यवस्थापनले पनि आफ्नो टोली नै देवकोटाको खोजीमा पठाएको थियो । तर उनी अहिलेसम्म भेटिएका छैनन् ।
असोज १५ मा शाखा प्रबन्धक नीराजन देवकोटा र क्षेत्रीय प्रबन्धक राजीव न्यौपाने सँगसँगै काठमाडौं हिँडेका थिए । दिउसो ४ बजे दुवै जना काठमाडौँको बल्खु आइपुगे । देवकोटाले न्यौपानेलाई बल्खुमा छाडे । त्यसपछि देवकोटाले १० मिनेट, १५ मिनेटमा आउँछु भन्दै न्यौपानेलाई कुराए । ढिला हुँदै गएपछि आधा घण्टा, १ घण्टाको समय दिन थाले ।
आफूलाई देवकोटाले यसरी कुराएपछि न्यौपाने भने झोला बोकेर पठाओ चढे र केन्द्रीय कार्यालय पुगे । सोही दिन साँझ साढे ६ बजे देवकोटा घाट बेसीको पुलबाट फाल हालेको हुन सक्ने प्रहरीको अनुमान छ । हालसम्म खोजी कार्य जारी छ, तर मान्छे भेटिएको छैन ।

विशाल नदीमा हेलिएर हराएका पात्रमाथि आरोपको खेती गर्नु उचित होइन । तर उनका क्रियाकलापले अनेक प्रश्न उब्जाएका छन् । उनले बैंकमा बसेर ‘मिटर ब्याज’ चलाएको भन्दै स्थानीय सञ्चारमाध्यमले पहिले नै लेखेका थिए । उनले कतिपय ऋणीसँग अनधिकृत हेरा फेरि गर्न घुस लिएको भन्दै गुनासाहरू दर्ता भएका छन् ।
देवकोटाको श्रीमतीको खातामा कर्जा दिएका क्लाइन्टको खाताबाट विभिन्न समयमा करिब डेढ करोड रुपैयाँ जम्मा भएको बैंक स्टेटमेन्टबाट देखिन्छ । देवकोटाको ज्वाइँको नाममा करिब २ करोड रकम तिनै क्लाइन्टबाट जम्मा भएको देखिन्छ ।
हालसम्म उनले दिएको करिब ४ करोड कर्जा बैंककले असुल्न नसक्ने अवस्थामा छ । उनको कमाइ भने अपत्यारिलो छ । जागिर खाएको ४ वर्षमा २ ओटा होटल र १८ कट्ठामा आफू बस्ने घर बनाएका छन् । यस किसिमको अस्वाभाविक सम्पत्ति आर्जन र विभिन्न गुनासो तथा उजुरीका कारण उनको आत्महत्याका पछाडि उनैको आचरण हुन सक्ने तर्फ पनि सङ्केत गरेको अधिकारीहरूको भनाइ छ ।