‘आरओई’मा खस्किँदै एनआईसी एशिया: प्राइम र हिमालयनले बढाउँदै पोजिशन, ठुलो बदलावपछि कुनको हैसियत कति ? « Arthapath.com
२२ कार्तिक २०८०, बुधबार

‘आरओई’मा खस्किँदै एनआईसी एशिया: प्राइम र हिमालयनले बढाउँदै पोजिशन, ठुलो बदलावपछि कुनको हैसियत कति ?



काठमाडौँ । तीन महिनामा वाणिज्य बैङ्कहरूको रिटर्न अन इक्विटी (आरओई) औसत करिब ८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैङ्कहरूले औसतमा ७.८६ प्रतिशत हाराहारीमा प्रतिफल दिन सक्ने गरी नाफा कमाएका छन् ।  

सञ्चालनमा रहेको २० वटा वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको चालु आव २०८०/८१ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा बैङ्कहरूले १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छन् । 

बैङ्कहरूको खुद नाफा पनि घट्दै गएको छ । पहिलो त्रैमासमा नै बैङ्कहरूको नाफा २८ प्रतिशतले घटेको छ । विशेष गरी आर्थिक मन्दी लगायतले बैङ्कहरूको व्यवसाय  बढ्न सकिरहेको छैन । बैङ्कहरूको खराब कर्जा पनि बढ्दो छ । ‘विशेषगरि बैङ्कहरूको खराब कर्जा बढेकाले नाफामा असर परेको छ । पहिलो त्रैमासमा बैङ्कहरूले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुट्ट्याएका छन् । जसले नाफा प्रभावित बनेको छ । यसको असर आरओईमा पनि देखिएको छ’– एक बैंकरले भने । 

आर्थिक शिथिलताले बैङ्कहरूको कर्जा असुल पूर्ण रूपमा नभएको उनले बताए । यसले बैङ्कहरूको खराब कर्जा पनि बढेकाले नाफा प्रभावित बनेको उनको भनाई छ । यसको असर आइओईमा परेको उनले बताए । 

पहिलो त्रैमासमा बैङ्कहरूसँग कुल ६ खर्ब ८५ अर्ब ९० करोड ४३ लाख रुपैयाँ बराबरको खुद सम्पत्ति छ । सेयरमा प्रतिफलको दरले कम्पनीको वास्तविक लाभांशलाई प्रतिनिधित्व गर्दैन । तर, यसले धेरै हदसम्म कम्पनीको वित्तीय स्वास्थ्य प्रस्ट्याउन सघाउने गर्दछ । यसका साथै सेयर लगानीकर्तालाई पनि यो अनुपातले कम्पनीको छनोट गर्न मद्दत पुर्‍याउँछ । 

नेटवर्थको आधारमा तयार हुने भए पनि यो तथ्याङ्कले कुनै कम्पनीलाई बढी वा घटी मुनाफा बाँड्ने सहजता कति छ भनेर थाहा पाउन सकिन्छ । चालु आवको पहिलो त्रैमासमा पनि आरओईका आधारमा बैङ्कहरूको पोजिशन तलमाथि भएको देखिन्छ । यसअघि निरन्तर बलियो र शीर्षस्थान जमाएका बैङ्कहरू पनि पछिल्लो समय खस्किँदै गएका छन् । अर्थात् उनीहरूको पोजिशन घट्दो क्रममा देखिन्छ । तर, केही आरओइकै आधारमा कमजोर मानिएका केही बैङ्कहरूले पनि आफ्नो स्थान अघि बढाउँदै आएका छन् ।

आरओईको आधारमा सधैँ पहिलो स्थानमा रहने एनआईसी एशिया पहिलो त्रैमासमा तेस्रो नम्बरको सूचीमा पुगेको छ । एनआईसी केही वर्ष उच्च लाभांश दिन सक्ने सामर्थ्य बनाउँदै आएको थियो । तर, पछिल्लो समय आफ्नै अग्रणी स्थानबाट ओरालो यात्रामा देखिन्छ । पहिलो त्रैमासमा एनआइसी एशिया बैङ्कले खुद सम्पत्तिको १३.६१ प्रतिशत मात्रै प्रतिफल दिन सक्ने सामर्थ्य जुटाएको छ । हाल बैङ्कसँग ३० अर्बको खुद सम्पत्ति छ । समीक्षा अवधिमा बैङ्कले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

पहिलो त्रैमासमा पहिलो सूचीमा भने स्ट्याण्डर्ड चार्टर्ड बैङ्क छ । सो अवधिमा बैङ्कले आफ्नो खुद सम्पत्तिको १६.१६ प्रतिशत प्रतिफल दिन सक्ने हैसियत बनाएको हो । बैङ्कले पहिलो त्रैमासमा ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ  भने बैङ्कसँग २० अब ९३ करोड रुपैयाँ बराबरको खुद सम्पत्ति छ । 

पछिल्लो केही वर्ष करिब करिब अन्तिम सूची तर्फ देखिने प्राइम कमर्सियल बैङ्कले पनि आरओईमा आफ्नो पोजिशन ह्वात्तै बढाएको छ । गत आवको पहिलो त्रैमासमा पनि बैङ्कले साढे १२ प्रतिशत हाराहारीमा प्रतिफल दिन सक्ने नाफा कमाएको थियो । गत आवमा त झन् यस्तो सामर्थ्य एकल अङ्क अर्थात् ८.६५ प्रतिशत मात्रै थियो । तर, चालु आवको पहिलो त्रैमासमा भने ठुलै बदलावसहित बैङ्कले आरओईको दोस्रो सूचीमा ल्याएको छ । बैङ्कले तीन महिनामा १५.९४ प्रतिशत प्रतिफल दिन सक्ने हैसियत बनाएका हो । हाल बैङ्कसँग साढे २९ अर्ब बराबरको खुद सम्पत्ति छ । चालु आवको पहिलो त्रैमासमा बैङ्कले १ अर्ब १५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । 

यस्तै, चौथो नम्बरमा भने एनएमबि बैङ्क देखिएको छ । समीक्षा अवधिमा बैङ्कले १३.३३ प्रतिशत प्रतिफल दिन सक्ने नाफा गरेको छ । यता, माछापुच्छ्रे बैङ्कले १३.२६ प्रतिशत, एभरेष्ट १२.१९ प्रतिशत, प्रभुले १२.०२, हिमालयनले ११.५७, नेपाल एसबिआईले १०.४४, नेपाल इन्भेष्टमेन्ट मेगाले  १०.३६ र नबिलले १०.०१ प्रतिशत प्रतिफल दिन सक्ने सामर्थ्य जुटाएका हुन् । गत वर्षहरूमा एकल अङ्कमा समिति देखिने हिमालयन बैङ्कले पनि आफ्नो हैसियत बढाउँदै गएको पाइएको छ । गत आवको पहिलो त्रैमासमा पनि बैङ्कको आरओई ९.६ प्रतिशत मात्रै थियो । गत आवमा भने १२औँ स्थानमा रहेको बैङ्कले चालु आवको पहिलो त्रैमासमा भने ८औँ सूचीमा देखिएको छ । 

यस्तै, आठ वटा बैङ्कको आरओई भने एकल अङ्कमा देखिएको छ । ती बैङ्कहरूले आफ्नो खुद नाफालाई नेटवर्थको १० प्रतिशत पनि कटाउन सकिरहेका छैनन् । सानिमा बैङ्कको ९.८२ प्रतिशत, ग्लोबल आइएमईको ८.१६ प्रतिशत, सिटिजनको ७.८९, राष्ट्रिय वाणिज्य बैङ्कको ६.१५, कुमारीको २.८१ प्रतिशत रहेको छ । 

यता, नेपाल बैङ्क, लक्ष्मी सनराइज र सिद्धार्थ बैङ्क पनि अन्तिम सूचीमा देखिएका छन्। समीक्षा अवधिमा नेपाल बैङ्कले खुद सम्पत्तिको १.५४ प्रतिशत, लक्ष्मी सनराइजको १.०९ प्रतिशत र सिद्धार्थ बैङ्कले ०.६७ प्रतिशत मात्रै प्रतिफल दिन सक्ने नाफा कमाएका हुन् । 

तर, सरकारी स्वामित्वमा रहेको कृषि विकास बैङ्कले प्रतिफल दिन नसक्ने अवस्थामा पुगेको छ । पहिलो त्रैमासमा बैङ्कको खुद नाफा ८८ करोड ८० लाख रुपैयाँ ऋणात्मक छ । बैङ्कसँग ३३ अर्ब २४ करोड बढी खुद सम्पत्ति छ । बैङ्कको खराब कर्जा बढेपछि नाफा ऋणात्मक बनेको हो । 

कुन बैंकको आरओई कति ?


प्रतिक्रिया दिनुहोस्