हिमालयन बैंकको १२ प्रतिशत स्वामित्व किन्न हिमालयन रिइन्स्योरेन्सको सशक्त प्रयास, यसरी भइरहेको छ तयारी « Arthapath.com
५ मंसिर २०८०, मंगलवार

हिमालयन बैंकको १२ प्रतिशत स्वामित्व किन्न हिमालयन रिइन्स्योरेन्सको सशक्त प्रयास, यसरी भइरहेको छ तयारी



काठमाडौं । हालैमात्र प्रिमियममा प्राथमिक सेयर निष्काशन (आईपीओ) गरिरहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले बाणिज्य बैंकमा लगानी गर्न जोडदार प्रयास गरिरहेको छ । कम्पनीले हिमालयन बैंकमा रहेको हबिब बैंकको स्वामित्व किन्न तत्परता देखाएको हो ।

अहिले नेपाली सेयर बजार निकै न्यून विन्दुमा झरेको छ । दोस्रो बजारमा हिमालयन बैंकको सेयर प्रतिकित्ता २०० रुपैयाँभन्दा पनि तल झरिरहेको छ । साधारण अवस्थामा दोस्रो बजारको भाउको तुलनामा आधा मूल्यमै संस्थापक सेयरको कारोबार हुने गर्छ । त्यस हिसाबले अहिले हिमालयनको संस्थापक सेयरको सन्दर्भ मूल्य १०० रुपैयाँ हाराहारीमा झरेको छ ।

अर्कातिर सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन वित्तीय विवरणमा नै समस्या उत्पन्न भएको छ । सिभिलको तुलनात्मक रुपमा बढी दायित्व र न्यून सञ्चालन नाफालाई थेग्न हिमालयनले बढी मेहनत गर्नु परेको छ । गाभिनुअघिसम्म निक्षेपकर्तालाई सबैभन्दा धेरै ब्याज दिने र सबैभन्दा कम ब्याजदर अन्तर (स्प्रेड)मा लगानी गर्ने बैंकमध्ये सिभिल अग्रस्थानमा थियो ।

यस्तो कमजोर बैंक गाभेपछि हिमालयनलाई वित्तीय विवरण सुधार्न कठीन परिरहेको छ । त्यसमाथि झण्डै २ वर्षदेखिको तरलता समस्या र खराब कर्जाको चपेटामा परेका बेला हिमालयनको सेयर किन्ने उपयुक्त मौका अहिले जुरेको छ । यही मौका छोपेर सस्तो भाउमा सेयर किन्न हिमालयन रिइन्स्योरेन्स अघि बढेको छ ।

पछिल्लो समय एसियन लाइफ इस्योरेन्स समूहले प्रभू बैंक, नेपाल इन्स्योरेन्स, यति एयरलाइन्स, क्राउन इम्पेरियल होटेल, माउण्ट ग्लोरी फरेस्ट रिसोर्ट र आधा दर्जन जलविद्युत् कम्पनीहरुमा एक साथ संस्थापक सेयर खरीद गरिरहेको छ । यही रफ्तारमा हिमालयन रिइन्स्योरेन्स पनि आफ्नो व्यावसायिक विस्तारमा देखिएको छ ।

हिमालयन रिइन्स्योरेन्स शंकर ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता ठूला व्यावसायिक घरानाको स्वामित्व भएको कम्पनी हो । यसको मुख्य लगानीकर्ता दीपक भट्ट हुन् । भट्ट एक उदीयमान व्यवसायीको रुपमा वित्तीय क्षेत्रमा आफ्नो उपस्थिति बढाउन अहिले आक्रामक देखिएका छन् ।

नयाँ स्टक एक्सचेञ्ज, नयाँ पूर्वाधार विकास बैंकजस्ता ठूला संस्थाहरु स्थापना गर्न उनले नीतिगत पहल गरिरहेको भनेर सिंगो आर्थिक क्षेत्रमै चर्चाको पात्र बनेका छन् । अहिले हिमालयन रिइन्स्योरेन्सले हबिबलाई प्रतिकित्ता १३० देखि १३५ रुपैयाँसम्म तिर्नसक्ने भनेको छ ।

यसका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अनुमति लिइसकेको र हबिबसँग कुराकानी अघि बढाएको हिमालयन रिइन्स्योरेन्सले जनाएको छ । उक्त डिल अघि बढाउन हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले मध्येस्तकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । तर उनले यसबारेमा खुलेर कुनै प्रतिक्रिया दिन अस्वीकार गरिरहेका छन् ।

तीन दशक पुरानो साझेदारी त्याग्नै सकस

हबिब पाकिस्तानको सबैभन्दा ठूलो, सबैभन्दा पुरानो र पहिलो बाणिज्य बैंक हो । पाकिस्तानको बहुराष्ट्रिय कम्पनीमध्ये पनि उसको स्थान सबैभन्दा माथि छ । करीब २२ हजार स्थायी कर्मचारी भएको यो बैंक नेपालबाट भने निस्कने कोसिस गर्न थालेको धेरै समय भयो ।

हिमालयन बैंकमा उसको साझेदारी ३१ वर्ष भइसकेको छ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशम्शेर जबराले हबिबकै साझेदारी पाएपछि नेपालमा निजी क्षेत्रको बाणिज्य बैंक खोल्ने अग्रसरता लिएका थिए । देशको पुरानोमध्येको एक बैंक भएको र ‘ब्राण्ड नेम’ पनि मेल खाने हुँदा अहिले हिमालयन रिइन्स्योरेन्सले यो बैंकको स्वामित्व किन्न अग्रसरता देखाएको छ ।

तर बैंकका केही सञ्चालकहरु उक्त समूहको आगमनलाई रोक्न पनि तत्पर देखिइसकेको बैंक सम्बद्ध स्रोतले जनाएको छ । ‘यसअघि तत्कालिन नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरको प्रक्रिया अन्तिम समयमा पुगेपछि रोक्न सफल भएको समूह नै अहिले यस डीलको विरुद्धमा देखिएको छ’ स्रोतले भन्यो ।

वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाउँदै राजनीतिक नेतृत्वसम्म दर्बिलो पकड स्थापित गरिरहेको हिमालयन रिइन्स्योरेन्स समूहले उक्त सेयर किनेमा आफूहरुको हालिमुहालीमा अवरोध उत्पन्न हुनसक्ने जोखिम केही संस्थापकले देखेका छन् । सिभिललाई गाभेपछि त्यस्ता संस्थापकको बैंकमा पकड झनै बलियो भएको छ । तर यस डिललाई लत्याइहाल्न पनि उनीहरुलाई सजिलो भने छैन ।

फेरि पनि हिमालयनमा अहिले कायम भएको करीब १२ प्रतिशत स्वामित्व बेचेर निस्कने हबिबको लामो समयदेखिको चाहना पुरा भइहाल्ने विस्वसनीय आधार तयार भइनसकेको स्रोतले जनाएको छ । हबिबसँग दुईपक्षीय कुुराकानी अघि बढेको भए पनि यसले औपचारिक रुपमा मोलमोलाइ भएर सेयर हस्तान्तरण भइहाल्ने अवस्था अझै बनिसकेको छैन ।

यो साल सरकारले मर्जर तथा प्राप्ती प्रक्रीयामा हुने बार्गेन पर्चेज गेन अर्थात् मोलमोलाइको लाभ रकममा पनि कर तिर्नुपर्ने प्रावधान अघि सारेको छ । हिमालयनले सिभिल बैंक किन्दा प्रतिकित्ता ८१ रुपैयाँको दरले मात्रै मूल्य तिरेको छ । १०० को सेयर ८१ म किनेपछि बाँकी १९ रुपैयाँको कर तिर्नुपर्ने कानुनी व्यवस्था तय गरिएको छ । भलै यस विषयमा अदालतमा मुद्दा विचाराधिन छ । उक्त मुद्धा टुंगो नलागेसम्म सेयर हस्तान्तरण गर्न राष्ट्र बैंक नै पनि अवरोधक बन्नसक्ने जोखिम बाँकी नै छ ।

यसअघि २०७७ सालमा बैंकको सम्पूर्ण सम्पत्ती तथा दायित्वको मूल्यांकन (डीडीए) हुँदा प्रतिकित्ता मूल्य २८२.५० रुपैयाँ पर्ने देखिएको थियो । त्यस बखत यही मूल्यमा सेयर खरीद गर्न हबिबले बाँकी संस्थापकहरुलाई आग्रह गरेको थियो ।

संस्थापक सेयर विक्री गर्दा बाँकी प्रबद्र्धक, सञ्चालकहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने कानुनी प्रावधान छ । उनीहरुले नकिनेको अवस्थामा मात्र संस्थापक समूहभन्दा बाहिरका व्यक्ति वा कम्पनीले यस्तो सेयरमा लगानी गर्न पाउँछन् । तर त्यस बेला संस्थापकहरुले हबिबले प्रस्ताव गरेको उक्त मूल्य धेरै महँगो भएको भनेर किनेनन् ।

त्यस बेला कर्मचारी सञ्चय कोषले चासो देखाएको भए पनि सेयर मूल्यमा कुरा नमिलेपछि प्रक्रिया अघि बढेन । संस्थापक समूहभित्रबाट खरीद नहुने भएपछि बेलायतको कमनवेल्थ डेभलपमेण्ट कर्पोरेशन (सीडीसी)ले उक्त सेयर किन्ने प्रक्रिया अघि बढाएको थियो । तर हिमालयन बैंकमा लामो समयदेखि सञ्चालकहरुबीचको टकराव र त्यसले उत्पन्न भएको गतिरोध फुकाउन २० प्रतिशत (जुन अहिले सिभिल बैंक गाभिएपछि १२ प्रतिशतभन्दा कममा झरेको छ) को स्वामित्व बोकेर आउने सीडीसीका लागि सहज नहुने देखियो ।

एकातिर बढी मूल्य, अर्कातिर भताभुंग सञ्चालक समितिको विवादले सीडीसीले सेयर किन्ने प्रक्रिया अघि बढाएन । त्यसपछि मर्जर र एक्वीजिशनको लामो प्रक्रियामा फसेपछि पुनः एक पटक हबिबको सेयर विक्रीबारे चर्चा अघि बढेको छ । तर यो प्रक्रिया कहिलेसम्म टुंगिन्छ र कसरी टुंगिन्छ भन्ने निक्र्योल छैन । तथापि हिमालयन रिइन्स्योरेन्सले यस कम्पनीको सेयर किन्न जोडदार पहल भने गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्