१ प्रतिशतको लाइनमा अन्तर बैङ्क ब्याजदर: बैंकहरुमा थुप्रियो ५ खर्ब, किन बढ्न सकिरहेको छैन कर्जा लगानी ?

काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि अन्तर बैङ्क ब्याजदर १ प्रतिशतको लाइनमा झरेको छ ।
अहिले बैङ्कहरूसँग ऋण लगानीका लागि मनग्य रकम थुप्रिएको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको चाप बढेसँगै अन्तर बैङ्क ब्याजदर पनि निरन्तर घटिरहेको छ । हाल यस्तो ब्याजदर १.१४ प्रतिशतमा आइपुगेको छ । बैङ्कहरूमा तरलता सहज हुँदै गएपछि नै यस्तो ब्याजदर घट्ने गर्दछ ।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप बढेको बढ्यै छ । तर, कर्जा लगानी भने विस्तार हुन सकिरहेको छैन । हाल बैङ्कहरूले ५ खर्ब बढी कर्जा लगानी गर्ने अवस्था छन् । तर, कर्जाको माग नहुँदा नै सो बराबरको रकम बैङ्कहरूमा थुप्रिएर बसेको छ । निक्षेप बढ्ने तर कर्जा प्रवाह भने सुस्त हुँदा नै यस्तो अवस्था आएको बताइन्छ ।
हाल बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेप सङ्कलन ५९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैङ्कहरूको मात्रै ५२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । तर, कर्जा लगानी भने करिब थप्प जस्तै छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मङ्सिर १६ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाले कुल ४९ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । वाणिज्य बैङ्कहरूको भने ४ खर्ब ५ अर्ब छ । निक्षेपको तुलनामा कर्जा लगानी सुस्त छ ।
निरन्तर निक्षेप बढ्दै जाँदा कर्जाको माग कम छ । जसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै आएको छ । हाल सिडी रेसियो ८०.७६ प्रतिशतको बिन्दुमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।
अर्थतन्त्र चलायमान नहुँदा नै कर्जा प्रवाह बढ्न नसकेको बैंकरहरु बताउँछन् । पछिल्लो समय बैङ्कहरूले ब्याजदर पनि घटाएका छन् । तर, ब्याजदर घट्दा पनि कर्जाको माग सुस्त रहेको बैंकरहरुको भनाई छ । आर्थिक गतिविधि नबढ्दा पनि कर्जा विस्तार हुन नसकेको उनीहरूको तर्क छ । आर्थिक शिथिलताले नै कर्जाको माग नभएको बताइन्छ ।
अर्थतन्त्र चलायमान बनाउनकै लागि केन्द्रीय बैङ्कले पनि केही नीतिगत लचकता अपनाएको छ । पछिल्लो समय घर कर्जा, सेयर कर्जा, हायर पर्चेच कर्जा सम्बन्धी नीतिमा गरिएको कडाइ समेत खुकुलो पारेको छ । बैङ्कहरूले पनि विभिन्न स्किमहरू अघि सारेका छन् । तर, पनि आर्थिक गतिविधि बढ्न सकिरहेको छैन । कर्जा प्रवाह सुस्त बनिरहेको छ ।