बैङ्कहरूले दिने ब्याजदर घटाए, मौद्रिक नीतिको समीक्षापछि कुन बैङ्कले कति तोके ? « Arthapath.com
११ असार २०८२, बुधबार

बैङ्कहरूले दिने ब्याजदर घटाए, मौद्रिक नीतिको समीक्षापछि कुन बैङ्कले कति तोके ?



काठमाडौं । वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले पुस महिनाका लागि ब्याजदर निर्धारण गरेका छन् । मङ्सिरमा पुसको तुलनामा घटाएर नयाँ ब्याजदर लागू गरेका हुन् ।

विशेषगरि नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंकदर घटाएको छ । योसँगै बैङ्कहरूले पनि ब्याजदर घटाएका हुन् ।

केन्द्रीय बैङ्कले यस्तो ब्याजदर ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झरेको छ । यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरेको छ । यता, निक्षेप सङ्कलन बोलकबोल दरलाई पनि ३ प्रतिशतमा झारेको छ । यसअघि भने यस्तो दर ४.५ प्रतिशत थियो । यसका साथै पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ, जसले ब्याजदर घट्दो क्रममा नै छ । विशेषगरि राष्ट्र बैङ्कले नीतिगत दरलाई घटाएसँगै बैङ्कहरूलाई ब्याजदर घटाउन टेवा पुगेको हो ।

मङ्सिरको तुलनामा १८ वटा बैङ्कहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । तर, २ वटाले भने मङ्सिरकै ब्याजदर पुसमा पनि निरन्तरता दिने भएका हुन् । पुसमामा प्रभु बैङ्क र सानिमा बैङ्कले अघिल्लो महिनाकै ब्याजदर कायम गरेका हुन् । तर, यी बाहेकका अन्य सबै बैङ्कहरूले भने घटाएका छन् ।

मङ्सिरको तुलनामा बैङ्कहरूको ब्याजदर औसतमा शून्य दशमलव ६२ प्रतिशतको बिन्दुले घटेको छ । योसँगै पुसमा बैङ्कहरूको औसत ब्याजदर ८.९९ प्रतिशत कायम भएको छ ।

मङ्सिरको तुलनामा सबैभन्दा धेरै हिमालयन बैङ्कले घटाएको छ । बैङ्कले १.९९७ प्रतिशत बिन्दुले घटाएको छ । बैङ्कले मङ्सिरमा अधिकतम १०.६ प्रतिशतसम्म ब्याज दिएको थियो । तर, पुसका लागि भने ८.६०३ प्रतिशतसम्म प्रदान गर्ने भएको छ ।

यस्तै, माछापुच्छ्रे, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र एभरेष्ट बैङ्कले पनि मङ्सिरको तुलनामा १ प्रतिशतले ब्याजदर घटाएका छन् ।

पुस महिनाका लागि सबैभन्दा धेरै ब्याज भने प्राइम कमर्सियल बैङ्कले प्रदान गर्ने भएको छ । पुसमा प्राइमले अधिकतम १० प्रतिशतसम्म ब्याज दिने भएको छ । यद्यपि, मङ्सिरको तुलनामा भने शून्य दशमलव २५ प्रतिशतले घटाएको हो । पुसमा माछापुच्छ्रेले अधिकतम ९.६ प्रतिशत, नेपाल एसबिआईले ९.६ प्रतिशत, नेपाल इन्भेष्मेन्ट मेगा बैङ्कले ९.५ प्रतिशत सिटिजनले ९.३५, कुमारीले ९.३१, सिद्धार्थले ९.२५ प्रतिशत र कृषि विकास बैङ्कले ९.०१२ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

यता, एनएमबि, प्रभु, सानिमा र लक्ष्मी सनराइजले भने अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । त्यसैगरि एनआईसी एशियाले अधिकतम ८.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले अधिकतम ८.६१ प्रतिशत, ग्लोबल आइएमई र नबिलले ८.६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड ८.५६, नेपाल बैङ्कले ८.५५ र एभरेष्ट बैङ्कले ८ प्रतिशतसम्म ब्याज दिने भएका हुन् ।

कुन बैङ्कले कति तोके ?


प्रतिक्रिया दिनुहोस्