अझै सस्तिँदै कर्जाको ब्याजदर: ‘सिङ्गल डिजिट’मा झर्यो बैङ्कहरूको ‘बेस रेट’, कुनबाट पाइन्छ सस्तोमा ऋण ?

काठमाडौं । बैङ्कहरूको ब्याजदर निरन्तर घटी रहेको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर थप घट्दै गएको हो ।
बैङ्कहरूले निक्षेपको ब्याजदर पनि घटाउँदै आएका छन्, यसले उनीहरूको लागत पनि घटेको छ । यता, कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ । केही समय अघिसम्म ८ प्रतिशतसम्म रहेको मुद्दती निक्षेपको ब्याजदर अहिले ७ घटेर ७ प्रतिशतसम्म आइपुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नीतिगत दरहरू घटाएको छ । यस्ता कारणले पनि बैङ्कहरू ब्याजदर घटाउँदै आएका छन् ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैङ्कले बैंकदर घटाएको छ । योसँगै बैङ्कहरूले पनि ब्याजदर घटाएका हुन् । केन्द्रीय बैङ्कले यस्तो ब्याजदर ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झरेको छ ।
यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरेको छ । यता, निक्षेप सङ्कलन बोलकबोल दरलाई पनि ३ प्रतिशतमा झारेको छ । यसअघि भने यस्तो दर ४.५ प्रतिशत थियो । यसका साथै पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ, जसले ब्याजदर घट्दो क्रममा नै छ । विशेषगरि राष्ट्र बैङ्कले नीतिगत दरलाई घटाएसँगै बैङ्कहरूलाई ब्याजदर घटाउन टेवा पुगेको हो ।
यसरी बैङ्कहरूले ब्याजदर घटाउँदा उनीहरूको लागत पनि घटेको छ, जसको असर बैङ्कहरूको आधार दरमा पनि परेको देखिन्छ । हाल बैङ्कहरूको औसत आधार दर (बेस रेट) पनि एकल अङ्कमा (सिङ्गल डिजिटमा) झरेको छ । पछिल्लो अपटेडअनुसार हाल बैङ्कहरूको बेस रेट औसतमा ९.८५ प्रतिशत छ । आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ । आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तो हुन्छ । यसरी आधार दर घटेपछि ऋणीले सस्तो ब्याजदरमा नै कर्जा पाउँछन् ।
हाल १३ वटा बैङ्कहरूको आधार दर एकल अङ्कमा देखिएको छ । पछिल्लो अपडेट अनुसार हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, नबिल, एभरेष्ट, सानिमा, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबि, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, नेपाल एसबिआई र प्रभु बैङ्कको आधार दर एकल अङ्कमा छ । यी बैङ्कहरूको आधार दर १० प्रतिशत भन्दा कम छ ।
बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यसका आधारमा अहिले १३ बैङ्कले सस्तो ब्याजमा ग्राहकलाई ऋण उपलब्ध गराउन सक्ने अवस्थामा देखिएका हुन् । सबैभन्दा सस्तो ब्याजमा पैसा चलाउनेमा भने स्ट्याण्डर्ड चार्टर्ड, आरविवि, नेपाल बैङ्क, नबिल र एभरेष्ट बैङ्क देखिएका छन् ।
तर, सात वटा बैङ्कको आधार दर भने अझै दोहोरो अङ्कमै छ । हाल सिटिजन बैङ्क, प्राइम, एनआईसी एशिया, लक्ष्मी सनराइज, कुमारी र हिमालयन बैङ्कको आधार दर दोहोरो अङ्कमा देखिएको हो । यद्यपि, यी बैङ्कहरूको आधार दर ११ प्रतिशतभन्दा कम नै छ । यी बैङ्कहरूबाट ऋण लिँदा अन्यको तुलनामा महँगो ब्याज तिर्नुपर्ने हुन्छ । अहिले सबैभन्दा धेरै आधार दर हिमालयन बैङ्कको १०. ८६ प्रतिशत छ ।
कुन बैंकको आधार दर कति ?
